अमेरिकी संघीय अदालतको आदेशपछि समाचार संस्था सीएनएनलगायत तीन सञ्चार माध्यमका पत्रकारहरूलाई ह्वाइट हाउस प्रवेशमा पुनः अनुमति दिइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तीन प्रमुख सञ्चारमाध्यममाथि लगाएको प्रतिबन्धलाई अदालतले तत्कालका लागि रोक्न आदेश दिएपछि सीएनएनलाई ह्वाइट हाउस छिर्न दिइएको हो ।
यसअघि, राष्ट्रपति ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोले “झूटो र काल्पनिक समाचार” सम्प्रेषण गरेको आरोप लगाउँदै उनीहरूको ह्वाइट हाउस प्रवेश पास रद्द गर्ने घोषणा गरेका थिए ।
तीनवटै सञ्चारमाध्यमले प्रशासनको निर्णयविरुद्ध अदालतमा आपत्कालीन निवेदन दर्ता गराएका थिए । निवेदनमाथि सुनुवाइ गर्दै संघीय न्यायाधीश टिमथी केलीले प्रशासनको उक्त कदमले पत्रकारहरूको संवैधानिक अधिकार र उचित कानुनी प्रक्रियाको उल्लङ्घन गरेको ठहर गरे ।
न्यायाधीश केलीले ह्वाइट हाउसलाई पत्रकारहरूको पास तत्काल पूर्ववत् रूपमा बहाल गर्न र उनीहरूलाई प्रवेश दिन आदेश दिएका थिए ।
अदालतको स्पष्ट आदेशका बाबजुद बिहीबार बिहान सीएनएनकी संवाददाता बेट्सी क्लेन र एक फोटोपत्रकारलाई पटक-पटक ह्वाइट हाउस छिर्नबाट रोकिएको थियो । क्लेनले चार पटकसम्म प्रवेशको प्रयास गरे पनि उनलाई भित्र जान दिइएन ।
ह्वाइट हाउसका अधिकारी तथा सल्लाहकारहरूले पनि अदालतको आदेशपछि कसरी अघि बढ्ने भन्ने विषयमा आन्तरिक अन्योल र अराजकताको स्थिति उत्पन्न भएको बताएका थिए ।
ह्वाइट हाउसमा चिनियाँ राष्ट्रपति सि जिनपिङको औपचारिक भ्रमण भइरहेकै समयमा यो विवाद सतहमा आएको हो । अमेरिकी सञ्चारमाध्यममाथिको प्रतिबन्धका कारण प्रमुख टेलिभिजन नेटवर्कहरूले ऐक्यबद्धता जनाउँदै पुल कभरेज स्थगन गरेका छन्, जसले गर्दा भ्रमणको प्रत्यक्ष प्रसारण र कभरेज प्रभावित भएको छ । चिनियाँ अधिकारीहरूले पनि यस विवादले शिखर वार्ताको कभरेजमा असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
अर्कोतर्फ, चिनियाँ सरकारी मिडियाका प्रतिनिधिहरू भने ह्वाइट हाउसको प्रेस ब्रिफिङ हलसम्म पुगेर तस्बिरहरू खिचिरहेका दृश्य देखिएका छन् ।
सिनेटका बहुसंख्यक नेता जोन थुनले ह्वाइट हाउसले अदालतको आदेशको पालना गर्नुपर्ने स्पष्ट पारेका छन् । उनले भने, “सरकारसँग पुनरावेदन गर्ने प्रक्रिया हुन्छ, तर अदालतको आदेश पालना गर्नु अनिवार्य छ ।”
मिडिया पक्षका वकिलहरूले अदालतको आदेश अटेर गर्नु कानुनको शासनमाथिको गम्भीर प्रहार भएको बताएपछि अन्ततः बिहीबार मध्याह्नतिर सीएनएनका पत्रकारलाई ह्वाइट हाउस प्रवेश गर्न दिइएको हो ।
–सीएनएनबाट









