८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026

निरन्तरको वर्षाले कोशीमा ‘रेड अलर्ट’, बाढी र पहिरोको जोखिम बढेपछि देशभर उच्च सतर्कता



देशभर जारी अविरल वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेपछि र बाढी-पहिरोको जोखिम तीव्र बनेपछि सरकार तथा स्थानीय प्रशासनले देशैभर उच्च सतर्कता अपनाएका छन् ।

निरन्तरको वर्षापछि कोशी नदीमा पानीको बहाव उच्च स्तरमा पुगेपछि कोशी ब्यारेजमा ‘रेड अलर्ट’ जारी गरिएको छ। बिहीबार साँझ सम्ममा नदीमा पानीको बहाव एक लाख ८५ हजार १३० क्यूसेक पुगेपछि खतराको सङ्केतस्वरूप ब्यारेजका ५६ मध्ये २३ वटा ढोका खोलिएका छन्। सप्तकोशीको तटीय क्षेत्र तथा उदयपुरको बेलका नगरपालिकाका जोखिमपूर्ण बस्तीहरूमा माइकिङ गरी सर्वसाधारणलाई सुरक्षित रहन र सतर्कता अपनाउन सूचित गरिएको छ।

मौसम पूर्वानुमान महाशाखा र जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म अति भारी वर्षा, बाढी र पहिरोको उच्च जोखिम रहने चेतावनी दिएपछि सरकारले प्रतिकार्यका लागि सम्पूर्ण निकायहरूलाई परिचालन गरेको छ। कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री स्वर्णिम वाग्लेले विपद् पूर्वतयारीबारे छलफल गर्दै मानवीय तथा भौतिक क्षति रोक्न सबै मन्त्रालय, सुरक्षा निकाय र स्थानीय तहलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। विपद्को जोखिमलाई मध्यनजर गर्दै सरकारले असोज ११ गतेसम्मका लागि देशभरका ७५३ वटै स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न र प्रमुख प्रशासकीय अधिकृतहरूलाई नियमित सम्पर्कमा रहन भनेको छ। बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकममार्फत पूर्वसूचना सन्देश पठाइएको छ भने आपत्कालीन अवस्थाका लागि ११५५, १२३४, ११११, १०० र १११४ जस्ता नि:शुल्क सम्पर्क नम्बरहरू सञ्चालनमा ल्याइएको छ।

भारी वर्षाका कारण सम्भावित दुर्घटना न्यूनीकरण गर्न विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले रात्रिकालीन सवारी आवागमन र पदयात्रामा रोक लगाएका छन्। खोटाङ र भोजपुरको सीमाना चखेवाभञ्ज्याङदेखि जयरामघाटसम्मको मध्यपहाडी लोकमार्ग, उदयपुरको कटारी-घुर्मी र साउने-रसुवा सडक खण्ड तथा कर्णाली प्रदेशका १० वटै जिल्लामा राति ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। त्यसैगरी बागलुङ प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ भने मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले पदयात्रीको सुरक्षालाई ध्यानमा राख्दै नयाँ प्रवेश अनुमति पत्र जारी गर्न रोक्दै पदयात्रामा रहेकाहरूलाई सुरक्षित स्थानमा शरण लिन अपिल गरेको छ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  १० : २३ बजे