८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026

एमालेको वरिष्ठ नेता बन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी



पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा पुनः नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सक्रिय राजनीति र नेतृत्वदायी भूमिकामा भित्रिने भएकी छन्। ललितपुरको भनिमण्डलस्थित रामबागमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा भण्डारीलाई ‘वरिष्ठ नेता’ का रूपमा स्वागत गर्ने प्रस्ताव पेस भएसँगै उनको राजनीतिक पुनरागमनले नयाँ मोड लिएको हो। याद रहोस्, एमालेको हालको विधानमा यो पदको व्यवस्था छैन।

राष्ट्रपति कार्यकाल समाप्त भएपछि पार्टी राजनीतिमा फर्कने सङ्केत गरेकी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामो समयदेखि चल्दै आएको शक्ति सङ्घर्ष र तिक्ततापूर्ण सम्बन्धपछि यो निर्णय बाहिर आएको हो।

स्वागतदेखि सदस्यता ‘होल्ड‘ सम्मको उतारचढाव

२०७२ कात्तिकमा राष्ट्रपति निर्वाचित भएपछि पार्टीको उपाध्यक्ष पद त्यागेकी भण्डारीले शीतलनिवासबाट फर्केपछि पार्टी सदस्यता नवीकरण गरेकी थिइन्। तर, भण्डारीले नेतृत्वमा दाबी गर्न सक्ने आशङ्काका बिच अध्यक्ष ओलीसँग उनको सम्बन्ध चिसिँदै गएको थियो।

विगतका सार्वजनिक कार्यक्रमहरूमा ओलीले भण्डारीप्रति कडा कटाक्ष गर्दै आएका थिए भने भण्डारीले पनि पार्टीभित्र ‘एकअधिकारवाद’ हाबी भएको र त्यो जनताको बहुदलीय जनवाद (जबज) को मर्मविपरीत रहेको भन्दै असन्तोष जनाएकी थिइन्। विवाद बढ्दै जाँदा ९ साउन २०८२ मा ओलीले भण्डारीको पार्टी सदस्यता नै ‘होल्ड’ गराएका थिए। त्यसको प्रतिवाद गर्दै भण्डारीले ३५ वर्ष पार्टीमा बिताएको उल्लेख गर्दै आफ्नो सदस्यता कसैले खोस्न नसक्ने अडान व्यक्त गरेकी थिइन्।

बदलिन थालेको शक्ति समीकरण

जेनजी विद्रोहपछिको निर्वाचनमा एमालेले धक्का बेहोरेपछि र ओलीको विकल्पबारे बहस सुरु भएपछि एमालेको आन्तरिक शक्ति समीकरण बदलिएको छ। पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारी, अध्यक्ष ओली र महासचिव शंकर पोखरेलबीच भएका बाक्लै भेटवार्तापछि उनलाई ‘वरिष्ठ नेता’ का रूपमा भित्र्याउने सहमति बनेको हो।

यस निर्णयले पूर्वराष्ट्रपति भण्डारीको एमाले नेतृत्वमा आउने ‘टरिनसकेको सम्भावना’ लाई पुनः जीवित गराइदिएको विश्लेषण गरिएको छ। साथै, एमाले र नेकपाबिच सहकार्य तथा एकताको बहस चलिरहेका बेला एकीकृत पार्टीको सम्भावित नेतृत्वका रूपमा समेत भण्डारीलाई हेर्न थालिएको छ।

पुनरागमनबारे फरक-फरक दृष्टिकोण

पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा पुनरागमनलाई लिएर राजनीतिक वृत्तमा दुईथरी मत देखिएका छन्। राजनीतिक विश्लेषक सञ्जीव पोखरेलका अनुसार, “गणतन्त्रको सर्वोच्च प्रतीक भइसकेकी पूर्वराष्ट्रपति फेरि पार्टी राजनीतिमा फर्कनु नागरिक र गणतान्त्रिक मर्यादाका दृष्टिले सुखद मान्न सकिँदैन।” अमेरिकाजस्ता देशमा पूर्वराष्ट्रपति चुनाव लड्ने उदाहरण दिने गरिए पनि नेपालको संवैधानिक (सेरेमोनियल) राष्ट्रपतिको पदसँग त्यसको तुलना नमिल्ने उनको तर्क छ।

अर्कोतर्फ, भण्डारी समर्थकहरू भने यसलाई एक स्वाभाविक राजनीतिक निरन्तरताका रूपमा लिन्छन्। अनेरास्ववियुबाट राजनीति सुरु गरेकी भण्डारी २०५० मा मदन भण्डारीको निधनपछि सक्रिय राजनीतिमा झन् प्रभावकारी बनेकी थिइन्। पूर्वमन्त्री, एमाले उपाध्यक्ष र मुलुकको पहिलो महिला राष्ट्रपति भइसकेकी भण्डारीको यो पुनरागमनलाई एमालेभित्रको नयाँ राजनीतिक जोडघटाउको रूपमा हेरिएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  १० : ४७ बजे