२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

अमेरिकाको बोस्टनमा नेपाली भाषा कक्षा


१८ जेष्ठ २०७४, बिहिबार  

0
Shares

प्रेमकुमारी घले/बोस्टन
स्वदेशप्रतिको माया र प्रेम कति गहिरो हुन्छ भन्ने कुरा विदेश पुगेका नेपाली माझ पाउन सकिन्छ । यस्तै उदाहरण बनेको छ बोस्टन तमू समाज र बोस्टनमा बस्दै आएका नेपालीहरु । उनीहरुले आफ्नो जन्मभूमि नेपाल र नेपालीका लागि आर्थिक र नैतिक साथ समर्थन मात्र गरेका छैनन्, भावी पुस्ताका लागि नेपाली भाषा र संस्कृति जगेर्ना गर्ने काम पनि गरिरहेका छन् ।
रोजगार र अध्ययनको सिलसिलामा अमेरिका पुगेका गुरुङ समुदाय मात्र नभएर आम नेपालीहरुको सन्ततीलाई नेपाली भाषा र संस्कृति सिकाउने उद्देश्यले बोस्टनमा विगत ३ बर्षयता नेपाली कक्षा संचालन भइरहेको छ । हरेक आइतबार ३÷३ घण्टा संचालन हुने कक्षामा अहिले ८१ जना बालबालिका नेपाली भाषा र संस्कृति सिकिरहेका छन् । अभिभावकहरु पनि स्वयंसेवी बनेर आफ्ना बालबालिकालाई सामूहिक रुपमा सिकाइरहेका छन् । ‘हामी मध्ये आ–आफ्नो क्षेत्रमा अनुभव र ज्ञान भएकाहरुले स्वमसेवी रुपमा बालबच्चाहरुलाई भाषा र संस्कार सस्कृति सिकाउछौं ।’ बोस्टन तमू समाजका संस्थापक अध्यक्ष एवं गैरआवसीय नेपाली राष्टिय परिषद अमेरिकाका निर्वाचन आयुक्ता भुवन गुरुङले भने ।
इन्जिनिरिङ अध्ययनका लागि विश्वकै एक उत्कृष्ट म्यस्च्युसीट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा अध्ययनरत नेपाली विद्यार्थीहरुले भाषा कक्षाका लागि स्थान उपलब्ध गराएको छ । जहाँ नेपाली विद्यार्थीहरुको समूह ‘मितेरी’का युवाहरुले भाषा कक्षामा समेत स्वमसेवी शिक्षकको भूमिका निर्वाह गरिरहेको बोस्टन तमू समाजका अध्यक्ष सम्झना गुरुङ श्रेष्ठले बताउनुभयो । उहाँ आफै पनि स्वमसेवी शिक्षिका हुनुहुन्छ । उहाँ लगायत प्रविन राई, परसुराम फुयाल, सुनिता कार्की केसी, जक गुरुड, तेजु गुरुङ, संजय ढुंगना, सेलिए पौडेल, सुरज गुरुङ, सचिन श्रेष्ठ, निरा गुरुङ, शम्भु कोइराला, सुमन नेपाल, भुवन गुरुङ, मिन गुरुङ, सुन्दर गुरुङ, पेमला खेदुप, सूर्य त्रिपाठी, नित्य शर्मा, मिलिसा पौडेल, विस पाण्डे लगायतले पढाउने, विभिन्न तालिम प्रदान गर्ने र अन्य व्यवस्थापनमा स्वयंसेवी भूमिका निर्वाह गरिरहेका छन् ।
रोजगार र अध्ययनका लागि विदेश आउनुपरेपनि आफ्नो भाषा, संस्कृति जोगाउन यस्तो अभियान संचालन गरेको उनीहरुको भनाई छ । आधारभूत, मध्यम र उच्च गरी ३ तहमा अध्ययन गराइरहेको भाषा कक्षामा बालबालिकाहरुलाई नेपाली भाषाका साथै नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता जाति विशेषको संस्कार, संस्कृतिबारे जानकारी दिने र खेलकूद, स्वास्थ्य, मनोरञ्जन लगायतका गतिविधि समेत संचालन गरिरहेको बोस्टन तमू समाजका महासचिब मिन गुरुङले बताए । शैक्षिक सामाग्रीका लागि समरभिले सिटी सरकारले कक्षा संचालन गर्दा २ हजार डलर उपलब्ध गराएपनि त्यसयता सवैले स्वमसेवी रुपमा सहयोग गरिरहेको अध्यक्ष गुरुङले बताए । बालबालिकालाई स्टेसनरी, खाजा र अन्य आवश्यक सामाग्री पनि उनीहरु आफैले जुटाइरहेका छन् ।
बालबालिकाहरुले भाषा सिक्ने मात्र नभएर नेपालप्रतिको माया र सदभाव बढाउन समेत टेवा पुगेको उनीहरुको बुझाई छ । अब भाषा कक्षालाई थप व्यवस्थित रुपमा अगाडि बढाउने उनीहरुको योजना छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७४, बिहिबार  १२ : ५४ बजे