२६ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025

गोविन्द केसीले थाले १२ औं अनशन 


९ आश्विन २०७४, सोमबार  

0
Shares

काठमाडौं । स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको माग गर्दै अनशन बस्दै आएका डा गोविन्द केसीले पुनः अनशन थालेका छन् ।
असोज ९ मा महाराजगञ्जस्थित शिक्षण अस्पतालको हाताभित्र पत्रकार सम्मेलन गरी डा केसीले आफ्नो १२ औँ अनशन सुरु गरेका हुन् ।
त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका केसीले पाँच सूत्रीय माग राखी पुनः सत्याग्रह (अनशन) शुरु गरेका हुन् ।

सरकारले सोही दिन व्यवस्थापिका–संसद्बाट बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४ लाई संशोधन नगरी पारित गर्न लागेको भन्दै अनशन सुरु गरेका हुन् ।

त्यसैगरी माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई समेत समावेश गरी चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सरकारले निर्धारण गरेअनुसार नै काठमाडौँ विश्वविद्यालयले एमबिबिएसको शुल्क लिनुपर्ने, त्रिविवि पदाधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने माग पनि केसीले गरेका छन् ।
हालै बर्खास्त गरिएका नेपाल आयल निगमका कार्यकारी प्रमुखमाथि छानबिन गरी हिनामिना गरिएको भए सो रकम उसुलउपर गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन तत्काल शुरु हुनुपर्ने, देशका विभिन्न भागमा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउनुपर्ने र नेपाल चिकित्सक संघले उठान गरेका माग पूरा गर्नुपर्ने रहेका जोड केसीले गरेका छन् । डा केसीले विगतमा आफूले उठान गरेका माग सम्बोधन नभएको बताउँँदै आएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७४, सोमबार  ६ : ५१ बजे