एभरेस्ट टाइम्स/न्युयोर्क
फिलिपिनी महिला जोयालाई नेपाल सरकारले ७ लाख लिएर देश निकाला गरेपछि दुई बच्चा र श्रीमानको बिचल्ली भएको थाहा पाएपछि न्युयोर्कबाट फोटोग्राफर आङकामी शेर्पाले उद्दार गरेका थिए । गत अगस्ट २०१६ मा भएको उक्त घटनामा उनी रातदिन नभनी आफ्नो फेसबुक लाइभबाट जोया, उनका श्रीमान जीवन मगर र नेपाल सरकारको निकायसम्म पहल गरी अन्ततः जोयालाई नेपाल फर्काउन सफल भए ।
महिनौको प्रयासपछि जोयालाई फिलिपिन्सबाट फर्काउनुका साथै उनको परिवारलाई आर्थिक सहयोग संकलन गरी दिए आङकामीले ।
न्युयोर्कमा लामो समयदेखि फोटोग्राफरको रुपमा क्रियाशील आङकामी लामो समयदेखि नै सामाजिक सेवामा आवद्ध थिए । तर जोयाको घटनाबाट उनी एकाएक सामाजिक सञ्जालमा छाए । पारिवारिक विछोड हुन लागेको जोया र जीवनको जीवनमा खुसी ल्याइदिन उनले त्यो कार्य गर्दा धेरै किसिमको टिकाटिप्पणी भएपनि सबैतिरबाट बढी स्याबासी पाएका थिए ।
एक व्यक्तिले चाहेमा राम्रो सेवा गर्न सकिन्छ भन्ने उदाहरणीय कार्य गरेपछि उनलाई विश्वका विभिन्न मुलुकमा पीडामा परेका र दुःखमा फसकेका युवायुवतीले दुख सुनाउदै उद्दारको लागि अनुरोध गर्दै आएका छन् । ‘जोया काण्डपछि विभिन्न देशमा बेचिएका र ठगिएका महिला र पुरुषले बारम्बार फोन र म्यासेज गरी सुनाउँदै आएको दुःखपीडाले चुप लागेर बस्न सकिनँ,’ आङकामीले भने, ‘अहिले फेसबुकबाट युवतीलाई ठग्ने केही पुरुषहरुलाई सम्पर्कमा ल्याएर पीडित महिलाको पैसा असुल्ने कार्य गर्दै निरन्तर लागी रहेको छु ।’
यस्ता समस्या बढ्न थालेपछि उनले समस्या सुन्न र हल गर्न नै दुइ वटा आइफोन र एउटा ल्यापटप प्रयोग गर्दै आइरहेका छन । यही सेवाकै कारण उनी पछिल्लोपटक फोटोग्राफीबाट अगल भइसकेका छन् । करिब दुई दशकको लामो अमेरिका बसाईपछि उनी गत वर्षको मे २४ तारिखमा अमेरिकाबाट फर्के । उनको सामाजसेवी भावना जहाँ पुगेपनि हराएन ।
अमेरिका छोडेपछि पनि उनले बेचिएका र फसेका ५६ जना महिलाको उद्दार गरिसकेका छन् । यतिखेर उनको दिनचार्य हरेक दिन कोही न कोही पीडितलाई अनलाइन लाइभमा ल्याएर उनीहरुको कुरा सुनेर उनको उद्दारकै लागि बितिरहेको छ । उनको सामाजिक भावनालाई विभिन्न मुलुकमा कार्यरत नेपाली चालकले पीडितहरुसम्म भेटाइदिने सहयोग गरेका छन् ।
उनले पछिल्लो समय ३ महिना १२ दिन सिरियामा थुनेर राखेका सुकुमाया लिम्बुलाई तीन महिना निरन्तर लागेर उद्दार गर्न सफल भएको बताउछन् । ‘दिनरात नभनी महिनौ लगाएर सुकुमायालाई नेपाल फर्काउन पाउँदा निकै खुसी लाग्यो,’ उनले भने, ‘सुकुमायालाई बेच्ने तीन जना दलाललाई पत्ता लगाएपछि सहयोगीहरु र तिनै दलालबाट संकलन भएको रकमबाट लिम्बुलाई उद्दार गर्न सफल भएको हो ।’
विदेशमा दुः ख पाएका नेपालीको सहयोगमा खट्दै आएका उनीसँग नेपालबाट मानव तस्करीमा लाग्नेको लामो सूची छ । महिलाहरुको साथै उनले साउदीमा तीन महिनादेखि काम नपाएर अलपत्र भएका २६ जना पुरुषका लागि पनि सहयोग गरिरहेका छन् । उनले गरेको मानवीय सेवाको कार्यहरुको लाइभ हेर्ने हजारौले निकै मार्मिक टिप्पाणीहरु दिँदै आएका छन् ।
विदेशमा बसेर पनि सामाजिक सञ्जालको माध्यमबाट उनले गरेको यो मानवीय सेवालाई सिआइबी, सम्बन्धीत देशका दुतावासका कर्मचारीहरु र नेपालबाट दावा थोकर तामाङ, कलाकार नवीन खड्काबाट सहयोग पाइरहेको उनले बताए । उनले अहिलेसम्म कुवेत, लेबनन, मलेसिया, ओमान र सिरियाबाट पीडितको उद्दार गर्दै आएका छन् । ‘भगवानको कृपाले मैले थालेको कार्यबाट सबैको सहयोगले धेरैको उद्दार गर्न पाएँ । पीडितहरुको उद्दारका लागि भविष्यमा सबैको सहयोगको आशा गरेको छु ।’