न्युयोर्क । नेपाली महिला विश्व सञ्जालले हालै ‘तिज टक’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम ‘तिज टक, टेल्स अफ इम्पावरमेन्ट, इक्वालिटी एन्ड जोय’ शीर्षकमा स्टोर सिटीमा नोभेम्बर ३ मा भएको सञ्जालकी अध्यक्ष अभिमा उप्रेतीले जानकारी दिइन् ।
अमेरिकामा साथीले शुरु गरेको अभियान साथीमार्फत अनुमति लिएर शुरु गरिएको उप्रेतीले जानकारी दिइन् ।
तिज टकको मुख्य उद्देश्य लिंग केन्द्रीत हिंसालाई सम्बोधन गर्नु र यस्ता घटनामा हस्तक्षेप गर्न र निवारणका लागि भएको सञ्जालको भनाइ रहेको छ । सञ्जालकी पूर्वअध्यक्ष डा विद्या रञ्जितले सहजीकरण गरेको कार्यक्रममा करिब ६० जना सहभागी थिए ।
सहभागीहरुले महिनावारी, रुढीवादी आधारमा गरिने लिंगीय विभेद र हिंसाबारे आफ्नो अनुभव राखेका थिए । कार्यक्रममा सञ्जालकी पूर्व अध्यक्ष रुक्मिणी कार्कीको पनि उपस्थिति थियो । सञ्जालले यस खालको कार्यक्रम आगामी वर्ष पनि आयोजना गर्ने तयारी गरेको छ ।