भारतमा नागरिकता ऐनको विरोध प्रदर्शनमा तीन जनाको मृत्यु, सयाैं पक्राउ

२०७६ पुष ४, शुक्रबार ११:५२

एजेन्सी— नागरिकता संशोधन ऐनको विरोध प्रदर्शनका क्रममा भारतमा तीन प्रदर्शनकारीको मृत्यु भएको छ । बिहीबार कर्नाटकको मंगलरुमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो । उत्तर प्रदेशको लखनउमा पनि एक प्रदर्शनकारीको मृत्यु भएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

नागरिकता संशोधन कानुनको विरोधमा बिहीबार देशभर प्रदर्शन भएको थियो। केही ठाउँमा प्रदर्शन हिंसात्मक पनि बनेको थियो। कर्नाटकको मंगलरुमा प्रदर्शनकारीले प्रहरी चौकीमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो।

उत्तर प्रदेशको लखनउमा पनि हिंसात्मक प्रदर्शन भएको छ। प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुवै पक्षका दर्जनौं घाइते भएका छन्। प्रदर्शनकारीले दर्जनौं गाडीमा आगजनी गरेका थिए।

प्रहरीले बिहीबार देशका कतिपय स्थानमा निषेधाज्ञा जारी गरेको भए पनि आक्रोशित प्रदर्शनकारी भने रोकिएनन्। बिहीबारका प्रदर्शनका क्रममा प्रहरीले सयौं जनालाई पक्राउ गरेको छ।

नागरिकता ऐनको विरोधमा राजधानी नयाँदिल्ली, लखनउ, हैदरबाद, पटनालगायत स्थानमा समेत प्रदर्शन चर्केको छ। सरकारले प्रदर्शन रोक्न दिल्लीका केही स्थानमा मोबाइल इन्टरनेट र म्यासेज सेवासमेत बन्द गरेको थियो। स्थानीय प्रशासनले ती सहरहरूमा कतिपय स्थानमा निषेधाज्ञा लागू गरेको थियो।

दुई साताअघि लोकसभा र राज्यसभाबाट पारित भएर जारी भएको नागरिकता संशोधनसम्बन्धी नयाँ कानुनले ३१ डिसेम्बर २०१४ अघि पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट भारत प्रवेश गरेका हिन्दु, शिख, बौद्ध, क्रिस्चियन, जैन, फारसीलाई नागरिकता दिने व्यवस्था गरिएको छ।

विधेयकमा उनीहरूलाई ६ वर्षभित्र नागरिकता दिने प्रावधानसमेत राखिएको छ। ऐनको उक्त व्यवस्थाले पूर्वोत्तरमा गैरकानुनी रूपमा बस्दै आएका विशेषगरी बंगलादेशी हिन्दु आप्रवासीहरूले नागरिकता पाउने र त्यसले आफूहरूको पहिचान र संस्कृतिमाथि प्रहार हुनुका साथै आफूहरू राजनीतिक रूपमा अल्पमतमा परिने भन्दै असमी, त्रिपुरालगायतका पूर्वोत्तर क्षेत्रका रैथानेहरूले विरोध गरेका हुन्।

मुस्लिमहरूले भने नयाँ कानुनमा मुस्लिमलाई नसमेटेर भारतीय जनता पार्टी नेतृत्वको सरकारले भारतलाई हिन्दुत्वको बाटोमा डोर्‍याउन थालेको भन्दै चर्को विरोध गर्दैआएका छन्।

 

सम्बन्धित समाचार