काठमाडौँ — प्रतिपक्षी कांग्रेसले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन सरकारलाई चेतावनी दिएको छ ।
सूचना टाँसेर संसद बैठक माघ ६ सम्म सारिएपछि कांग्रेसले सरकार र नेकपालाई तत्काल निकासको मार्ग प्रशस्त गर्न सचेत गराएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै सत्तारुढ नेकपाका कारण एक महिनादेखि सदन अवरुद्ध रहेको आरोप लगाएका छन् । ‘नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिँदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।
शर्माले प्रतिनिधिसभालाई सत्तारुढ दलभित्रको विवादको छाया बनाएको आरोप लगाएका छन् । ‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुन्छ,’ शर्माले भनेका छन्, ‘तर ३ महिनादेखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायामा प्रतिनिधिसभालाई लाचार छाया बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ।’