१० असार २०८३, बुधबार | Wed Jun 24 2026

ई–पासपोर्ट ठेक्का प्रकरण : केपी ओलीकै निर्देशनमा ठेक्का टुक्र्याइएको दाबी



ई–पासपोर्ट छपाइ ठेक्कामा भएको भनिएको अनियमितता प्रकरणमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली को निर्देशनमा ठेक्का दुई प्याकेजमा विभाजन गरिएको दाबी सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयका तत्कालीन कानुन उपसचिव पुष्करराज नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष दिएको बयानमा तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशनअनुसार राहदानी छपाइसम्बन्धी ठेक्का दुई भागमा विभाजन गरिएको बताएका हुन् ।

आयोगलाई दिएको बयानमा नेपालले प्रधानमन्त्रीको कार्यकक्षमा परराष्ट्र मन्त्रालय, राहदानी विभाग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी तथा विज्ञहरूको उपस्थितिमा भएको छलफलमा ओलीले प्रतिस्पर्धा बढाउन र लागत घटाउन भन्दै दुई प्याकेजमा ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिएको उल्लेख गरेका छन् ।

उनले नेपालमा तत्कालीन अवस्थामा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) प्रणाली प्रभावकारी रूपमा सञ्चालन भइरहेकाले तत्काल ई–पासपोर्टमा रूपान्तरण गर्नुपर्ने आवश्यकता के थियो भन्ने विषयमा समेत प्रश्न उठाएका छन्। ई–पासपोर्ट कार्यान्वयनको निर्णयको पृष्ठभूमि र उद्देश्यबारे थप अनुसन्धान हुनुपर्ने उनको भनाइ रहेको छ ।

गत वर्ष राहदानी छपाइका लागि छुट्टाछुट्टै दुई प्याकेजमा ठेक्का प्रदान गरिएको थियो। जसमध्ये १ अर्ब ५५ करोड रुपैयाँ बराबरको ठेक्का मुहलबउरले प्राप्त गरेको थियो भने ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको अर्को ठेक्का भेरिडोसलाई दिइएको थियो ।

यी दुवै कम्पनीलाई राजनीतिक पहुँच र प्रभावका आधारमा ठेक्का दिलाइएको आरोप सार्वजनिक रूपमा उठ्दै आएको छ। सम्बन्धित कम्पनीका नेपाल प्रतिनिधिहरू विभिन्न राजनीतिक दलसँग निकट रहेको चर्चा पनि हुँदै आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने राहदानी विभागबाट बोलपत्र आह्वान गर्ने प्रारम्भिक चरणदेखि नै गम्भीर अनियमितता भएको निष्कर्ष निकालेको छ । आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार राष्ट्रसेवक कर्मचारी, पदाधिकारी, आपूर्तिकर्ता कम्पनी र तिनका प्रतिनिधिबीच मिलेमतो गरी निश्चित कम्पनीलाई लाभ पुग्ने गरी बोलपत्रका शर्त तथा मापदण्ड परिवर्तन गरिएको आरोप लगाइएको छ ।

आरोपपत्रमा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत बोलपत्र मूल्यांकन गरिएको, प्राविधिक तथा आर्थिक मूल्यांकनमा हेरफेर गरिएको र गलत सिफारिस तथा निर्णयमार्फत ठेक्का प्रदान गरिएको उल्लेख छ ।

अख्तियारका अनुसार सम्बन्धित कम्पनीहरूसँग सम्झौता गरी आंशिक भुक्तानीसमेत गरिसकिएको छ। यस प्रक्रियाबाट आपूर्तिकर्ता कम्पनीहरूलाई गैरकानुनी लाभ पुर्‍याइएको तथा नेपाल सरकार र राहदानी विभागलाई आर्थिक हानि भएको दाबी आयोगको छ ।

आयोगले उक्त प्रकरणमा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बराबरको भ्रष्टाचार भएको आरोप लगाएको छ। प्रकरणमा संलग्न भनिएका सरकारी अधिकारी, कर्मचारी तथा कम्पनी प्रतिनिधिहरूमाथि विशेष अदालतमा मुद्दा दायर भइसकेको छ ।

यस प्रकरणले ई–पासपोर्ट खरिद प्रक्रिया, सरकारी ठेक्का व्यवस्थापन तथा उच्च राजनीतिक तहको निर्णय प्रक्रियामाथि समेत गम्भीर प्रश्न उठाएको छ। मुद्दाको अन्तिम सत्यतथ्य भने अदालतको फैसला पछि मात्र स्थापित हुनेछ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १० : ३८ बजे