२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

असुरक्षा भएको भन्दै सप्तकोशीमा जेटबोट बन्द



विराटनगर– असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरुपमा सात पानीजहाज सञ्चालन हुँदै आएको थियो ।

सञ्चालकले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय नदी किनाराका केहीले हुलहुज्जत गर्दै कमिशनको माग, बिना टिकट यात्रा, रोजगारी, अनाधिकृत बुकिङलगायतक माग राखी जहाज सञ्चालनमा अवरोध सिर्जना गरेपछि बन्द गर्नुपरेको जनाएका छन् । शान्ति सुरक्षाको प्रत्याभूति नगरिएसम्म सेवा बन्द गर्ने उनीहरुले जानकारी दिएका छन् ।

जेटबोटमा करोडौँको लगानी रहेको, यसले मुलुकको पर्यटन प्रवद्र्धनमा सेवा दिएको र स्थानीयलाई आवागमनमा सहज भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सप्तकोशीमा नदीमा तीन सिटका तीन, आठ सिटका दुई, ७० सिटको एक र १८ सिटको एक गरी सात पानीजहाज सञ्चालन हुँदै आएका थिए । एक यात्रु बराबर पाँच लाखको दुर्घटना बीमा रहेको छ ।

बराहक्षेत्र जल यातायत तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एण्ड रिर्सोट्स प्रालि र सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालि गरी सात पानीजहाज सञ्चालन हुँदै आएको छ । पानीजहाजबाट सुनसरीको चतराबाट भोजपुरको सीमाना सिम्मेसम्म सञ्चालन हुँदै आएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १० : ०३ बजे