मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा

२०७६ फाल्गुन १२, सोमबार १४:००

क्‍वालालम्पुर — मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन् । उनले सोमबार मलेसियाका राजासमक्ष राजीनामा बुझाएको मलेसियाली सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

९४ वर्षीय महाथिरले नयाँ गठबन्धनको सरकार बनाउन चाहेको र अनवर इब्राहिमलाई प्रधानमन्त्रीका रुपमा चयन गर्नका लागि पनि राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

विश्वकै सबैभन्दा पाका प्रधानमन्त्रीका रुपमा महाथिर मोहम्मद सन् २०१८ को मेमा मलेसियाको सत्ता सम्हालेका थिए । यसअघि सन् १९८१ देखि २००३ सम्म उनी मलेसियाका प्रधानमन्त्री बनेका थिए ।

महाथिरले राजीनामा दिए पनि उनको योजनाअनुरुप नयाँ सरकार बन्ने भने देखिएको छैन । महाथिरको मलेसियन युनाइटेड इन्डिजेनस पार्टीलाई सरकारमा समर्थन गरेको बर्सातु पार्टीले गठबन्धन तोडेको जनाएसँगै नयाँ सरकार गठनमा समस्या हुने देखिएको हो ।

राजीनामा दिनुअघि महाथिरको बर्सातु पार्टीले सत्ता गठबन्धन त्याग्ने तर महाथिरलाई प्रधानमन्त्रीका रुपमा समर्थन जारी राख्ने जनाएको छ । सरकारमा सम्मिलित मन्त्रीहरु समेत ११ जना सांसदले अनवरको पार्टी परित्याग गर्ने घोषणा गरेका छन् ।

महाथिरको बर्सातु र अनवरको पार्टीका झण्डै ५० जना सांसदले सत्ता गठबन्धन त्यागेको अवस्थामा अनवरलाई पनि सरकार गठन गर्न मुश्किल हुनेछ ।

महाथिर र अनवर दुबैले मलेसियाको राजनीतिमा वर्षौंदेखि प्रभाव पारिरहेका छन् । यी दुई वरिष्ट नेताको अग्रसरतामा सन् २०१८ को चुनावमा तत्कालीन सरकार परास्त भएको थियो । चुनाव अघि यी दुई नेताबीच निश्चित समयभित्र आलोपालो सरकार चलाउने सहमति भएको थियो, तर महाथिरले अनवरलाई सत्ता हस्तान्तरण गर्न ढिलाई गर्नु भएको थियो ।

अनवरले सोमबार नै सरकारले अघि सारेको सुधारको कार्ययोजना सन्तोषप्रद रहेको बताएका छन् । तर उहाँले सत्ता गठबन्धनका बारेमा केही बताउन चाहेका छैनन् ।

पछिल्लो राजनीतिक सङ्कटका कारण भ्रष्टाचारको आरोपमा मुद्दा झेलिरहेका मलाए पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री नजिब रजाकको भूमिका फेरि बढ्ने अनुमान गरिएको छ । कट्टरपन्थी इस्लामिक पार्टीसँग गठबन्धन गरेको मलाए पार्टीको प्रभाव मलेसियाको राजनीतिमा पुनः देखिने छ ।

अनवर र उनकी पत्नी उपप्रधानमन्त्री वान अजिजा वान इस्माइलले पनि सोमबार राजालाई भेट्ने कार्यक्रम तय भएको छ । वान अजिजाले ट्वीट गर्दै ‘मानिसहरुले योजना बनाउन सक्छन् तर अल्लाहले निर्णय गर्नुहुन्छ’ भनेकी छन् ।

विज्ञहरुले मलेसियाली राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले संसदमा कुन पक्षको बहुमत छ भनेर निर्णय गर्न वा नयाँ चुनाव घोषणा गर्न सक्ने बताएका छन् । उनीहरुले नयाँ सरकारको गठनले मलाए इस्लामिक पार्टीको बर्चश्व र प्रभाव मुलुकमा देखिने र त्यसले मलेसियाको बहुजातीय सामाजिक संरचनामाथि सङ्कट निम्त्याउने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार