काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोराेना रोकथाम, आर्थिक, सामाजिक सहयोग र राहत अनुगमन गर्न स्थानीयस्तरमा नागरिक समाजका प्रतिनिधि रहने गरी सर्वदलीय संयन्त्र बनाउन माग गरेको छ ।
कोभिड—१९ संक्रमणको असर, सामाजिक र आर्थिक क्षेत्रको अनुगमनका लागि कांग्रेसले बनाएको समितिका संयोजक एवं सहमहामन्त्री प्रकाशरण महतले सोमबार पत्रकार सम्मेलन गर्दै १४ बुँदे सुझावसहित उक्त माग अघि सारेका हुन् । सम्मेलनमा आरडीटी बन्द गरी पीसीआर परीक्षणलाई व्यापक विस्तार गर्नुपर्ने, पीसीआर परीक्षण नगरी क्वारेन्टाइनबाट घर पठाउन नहुने, असुरक्षित क्वारेन्टाइनहरु बन्द गरी सुरक्षित र मापदण्ड अनुकूलको क्वारेन्टाइन व्यवस्था गर्नुपर्ने लगायतका माग छन् ।
कांग्रेसले खाद्यान्न र न्यूनतम आम्दानीको अभावबाट गुज्रिरहेका आम श्रमिक विद्यार्थी, एकल महिला, अपाङ्गता र अशक्त नागरिक, बालबालिका तथा ज्येष्ठ नागरिकलगायत न्यून आय भएका नागरिकको जीवन निर्वाहका लागि आर्थिक प्याकेजको व्यवस्था हुनुपर्ने, स्थानीय निकायमार्फत न्यूनतम आवश्यकता र खाद्यान्नका लागि कामको व्यवस्था गर्नुपर्ने, विदेशबाट फर्कन चाहने नेपालीलाई बिनाभेदभाव न्यूनतम भाडादरमा फर्कने व्यवस्था मिलाउनु पर्ने मागसमेत अघि सारेको छ ।
कृषि क्षेत्रमा बीउविजन र रासायनिक मलको तत्काल व्यवस्था, बीउविजन र रासायनिक मलमा अनुदान, स्थानीय निकायलाई समुचित आर्थिक सहयोग गर्नुपर्ने, लकडाउनको परिस्थितिमा सत्ताको नजिक रहेकाहरुलाई जथाभावी पास बाँड्ने र आम नागरिकलाई आपत्कालीन परिस्थितिमा पनि आवतजावत पास दिन आनाकानी गर्ने प्रवृत्ति बन्द हुनुपर्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, स्थानीय निकायमा अग्रपंक्तिमा रहेकाहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा किटको समुचित प्रबन्ध गरिनुपर्ने माग कांग्रेसले गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कैलालीको एक क्वारेन्टाइनमा भएको बलात्कार घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छ्न् । शर्माले छुट्टै विज्ञप्ति निकाल्दै कैलाली घटनाले क्वारेन्टाइनको बेथिति उजागार गरेको कांग्रेसले उल्लेख गरेका छन् । ‘मापदण्डविपरीतका अव्यस्थित क्वारेन्टाइनहरु कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएका छन्’शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘अव्यवस्थाका कारण देशका विभिन्न क्वारेन्टाइनबाट नागरिक भागेका छन् । क्वारेन्टाइन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको छ र अन्तत: बलात्कारसम्मको घटनाको कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको छ ।’