न्युयोर्क । द तमु सोसाइटी ईन्क अमेरिकाको नेतृत्वमा स्वर्गीय झोक बहादुर गुरुङको अन्तिम संस्कार गरिएको छ ।
मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेट्स ह्यारी भण्डारीको सहयोगमा जुन १७ , २०२० मा बौद्ध परम्परा अनुरूप गुरु आचार्य ङवाङ सङग्येद्वारा पूजापाठ गरी न्युजर्सीको ब्रोन्सन एन्ड गुथलेइन फुनरल होममा दाहसंस्कार गरिएको हो ।
त्यस समयमा गुरुङको परिवार पनि भिडियो कल मार्फत जोडिएका थिए । न्युयोर्कमा द गुरुङ सोसाइटी अफ युएसएको आयोजना मृत आत्माको शान्तिको लागि बत्ती बाल्ने तथा श्रद्धाञ्जली कार्यक्रम पनि गरियो ।
श्रद्धाञ्जली कार्यक्रममा स्वर्गीय गुरुङका रुम मेट महेश थापा, उनीसँगै काम गर्ने उनका मेनेजर तथा साथी विक्रम खत्रीलगायत सहभागी भएका थिए । द गुरुङ सोसाइटीका अध्यक्ष विजय गुरुङले वर्तमान कठिन परिस्थितिमा उपस्थित भएर श्रदान्जली दिने सबैलाई धन्यवाद दिएका थिए ।
अध्यक्ष गुरुङले संस्थाले कुनै पनि गुरुङलाई सुख दुखमा सहयोग गर्ने गरेको जानकारी गराए । पूजामा आचार्यले छोटो प्रवचन पनि दिएका थिए । बुद्ध धर्म, धर्म नभएर एक वैज्ञानिक तरिकाबाट सदमार्गाबाट जिउने तरिका रहेको उनले जानकारी दिएका थिए ।
कार्यक्रममा फिप्ना अमेरिकाका अध्यक्ष लोक लिम्बु , जनसम्पर्क समिति, अमेरिका अध्यक्ष आनन्द बिस्ट, एनआरएनको न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, युनाईटेड किराँत राई अर्गनाजेशनको न्युयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई , सिन्धु युएनका अध्यक्ष क्षिरिङ शेर्पा लामा, ज्ञ्यासुम्दा सेवा समाजका अध्यक्ष निमा लामा लगायत नेपालीहरूको उपस्थिति थियो । ज्ञ्यासुम्दा सेवा समाज अमेरिकाले हल निःशुल्क उपलब्ध गराएको थियो भने कार्यक्रमको सञ्चालन तथा समन्वय प्रवासी नेपाली एकता मञ्च, अमेरिकाका अध्यक्ष टेक गुरुङले गरेका थिए ।