२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताउएका छन् । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने पनि बताए । “यसका लागि हिजोका दिनमा तपाईंहरुले दिएको साथ आज पनि चाहिएको । यसका लागि म तपाईंहरुसँग सहयोगको अपिल गर्न चाहन्छु ।”

उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताए । “अन्यायमा परेकालाई न्याय, समानता र अधिकार चाहिन्छ । सामाजिक न्याय भनेको त्यही हो”, प्रधानमन्त्रीले भने, “देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रुप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।”

उgले जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका पाँच वर्षमा एउटा रेकर्ड बनाउने सकिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आएको उल्लेख गर्दै आसन्न भारत भ्रमणमा विद्युत् बिक्री र उत्पादनका विषयमा सम्झौता हुने बताए ।

“जुन–जुन प्रदेशलाई हिजोका दिनमा पछाडि पारिएको थियो, म तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु । म प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पार्यो तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु”, उनले भने ।

प्रधानमन्त्री दाहालले काठमाडौँ नजिकै भए पनि हिजोका दिनमा राज्यसत्ताले पछाडि पारेका क्षेत्रलाई विकासमा अगाडि ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ५ : २९ बजे