२३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026

गणतन्त्रवादीहरू एक भएकोले राजतन्त्र नफर्किने ओलीको ठोकुवा



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रवादीहरु एक जुट भएकोले देशमा फेरि राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् । उनले राजतन्त्र फर्किन नदिने र गणतन्त्रलाई थप मजबुद बनाएर अघि बढ्ने विषयमा गणतन्त्रवादीहरू एकताबद्ध रहेको बताएका हुन् ।

मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौँमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा जन्मिँदै शासक हुने सिद्धान्त र सामन्दवादको कुनै अवशेष बाँकी नरहेको बताएका छन् ।

‘अहिले एकथरी मान्छे छन्, राजतन्त्र आयो भने राष्ट्रियता बलियो हुन्छ भनेर कराउँछन् । तर यहाँ कुरा बुझ्न आवश्यक छ । के राजा हुँदा मात्रै देश बच्ने हो र ? जनताले हो कि राजाले हो देश बचाउने ?,’ अध्यक्ष ओलीले अघि भने, ‘यो तथ्यले पुष्टि गर्नुपर्‍यो । तथ्य यही हो कि देश बचाउने राजाले होइन, जनताले हो ।’

कहिलेकाहीँ आफूहरू (नेताहरु) भेट हुँदा यिनीहरूले राजतन्त्र ल्याउन दिँदैनन् कि क्या हो भनेर विरोध हुने गरेको प्रसंग निकाल्दै अध्यक्ष ओलीले राजतन्त्र फर्किन नदिन आफूहरू सबै एक ठाउँमा रहेको बताए ।

‘यो त निश्चित छ कि हामी राजतन्त्र फर्काउन दिदैनौँ, यो त खुलस्त कुरा हो, हामी भेट भए पनि, नभए पनि यो त प्रस्टै छ,’ ओलीले भने, ‘राजतन्त्र अब इतिहास हो, बितिसकेको कुरा हो । यसबारे छलफल गर्नुको कुनै औचित्य छैन ।’

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : ५२ बजे