५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पत्रकार महासंघको महाधिवेशन सुरु, “प्रेस स्वतन्त्रतामाथि नियन्त्रण वा संकुचन हुन दिन्न” प्रधानमन्त्री



नेपाली पत्रकारहरुको छाता संगठन नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । राजधानीमा आयोजित अधिवेशनको प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार उद्घाटन गरेका हुन् ।

अधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्य सहभागी छन् । यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा बिहान महासङ्घको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको थियो ।

महासङ्घको २७औँ अधिवेशन समेतका अवसरमा आयोजित प्रभातफेरी रत्नपार्क शान्तिबाटिकाबाट सुरु भई भृकुटीमण्डपस्थित अधिवेशनस्थल राष्ट्रिय सभागृहमा पुगेर समापन गरिएको थियो । प्रभातफेरीमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकारहरूको सहभागिता थियो ।

महासंघको महाधिवेशन शुक्रबार र शनिबार हुनेछ । बिहीबार बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकले जेठ १९ गते केन्द्र, प्रदेश र जिल्ला शाखाहरूको निर्वाचन गर्ने मिति तोकेको छ । महासंघले २६औँ महाधिवेशनदेखि नै प्रत्यक्ष निर्वाचनको अभ्यास गर्दै आएको छ । महासंघको नेतृत्व चयनका लागि देशभरिबाट सबै साधारण सदस्यले मतदान गर्नेछन् ।

महासंघको २७ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उनले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा संकुचन हुन नदिने उल्लेख गर्दै आसञ्चार माध्यम पनि मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनुपर्ने र स्वनियमनमा बस्नुपर्ने बताएका छन् ।

‘प्रेस जगतसँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौँ र उपभोगको सहज वातावरण पनि बनाऔँ’ उनले भने, ‘सँगसँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौँ । असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित तुल्याउने, नकारात्मक मानसकिताको विकास गराउने, सामाजिक सद्भाव विथोल्ने वा नेपाली सभ्यता र संस्कृतिमाथि हमला गर्ने किसिमका सामग्रीहरूको प्रकाशन प्रसारणका लागि स्वनियमन प्रणाली विकास गर्न आमसञ्चार माध्यमहरूलाई मेरो आग्रह छ ।’

महासङ्घले प्रेस स्वतन्त्रतालाई प्रमुख सवालका रूपमा लिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको बताए ।

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई आफ्नो प्रस्तावनामै उल्लेख गरेर संस्थागत गरिसकेकाले प्रेस स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अंग रहेकोले अब कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने प्रधानमन्त्रीको भनाई थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ३ : १२ बजे