न्यूयोर्क स्टेट एटर्नी जनरल लेटिसिया जेम्सले बंगाली मूलका १९ वर्षीय विन रोजारियोलाई प्रहरीले गोली हानी हत्या गरेको भिडियो सार्वजनिक गरेको छ । विनलाई एनवाइपिडी अफिसर साल्भाटोर एलंगी र म्याथ्यु सियानफ्रोकोले गत मार्च २७ मा गोली हानी हत्या गरेका थिए ।
उनलाई हत्या गरेको भिडियो फुटेज प्रहरीको शरिरमा जडित क्यामेराले खिचेको थियो । भिडियो सार्वजनिक भएपछि विनको परिवार, जस्टिस कमिटि तथा देसिज राईजिङ अप एण्ड मुभिङका तर्फबाट विनको परिवारका प्रतिनिधि र फ्यामिली एटर्नीले ती प्रहरी अधिकृतहरुलाई बर्खास्त गरिनुका साथै हत्याको अपराधमा तत्काल कारवाही गरिनुपर्ने बताएका छन् ।
विन रोजारियोको आमा, भाइ र बुबाले संयुक्त रुपमा विज्ञप्ति जारी गरी भनेका छन्, ‘‘विनलाई गुमाएको र हाम्रो मुटु टुक्रिएको एक महिनाभन्दा बढी भयो । हामी हरेक दिन उसको अभाव अनुभूति गर्छौं । यसरी बाँच्नु आघातपूर्ण र पीडादायी छ । भिडियो सार्बजनिक नभए हुन्थ्यो भन्ने हाम्रो चाहना थियो । सार्बजनिक भिडियोबाट विन अहिले पनि जीवत हुन्थे, तर प्रहरी आए, उनको र हाम्रो पर्वाह नगरी हाम्रै किचनभित्र हत्या गरिदिए भन्ने प्रष्ट हुन्छ । प्रहरी आफैँले बखेडा खडा गरे र विनलाई निर्ममतापूर्वक मारे । ती प्रहरी अधिकृतहरुलाई बर्खास्त गरिनुपर्छ र हत्याको अपराधमा तत्काल कारवाही गरिनुपर्छ।’’
जस्टिस कमिटिका लोयडा कोलोन (देदेम) ले ‘‘हत्याको फुटेज भयंकर डरलाग्दो र नियतवश मारिएको हो भन्ने स्पष्ट हुने बताएका छन् । उनले भनेका छन्, ‘‘सुरुदेखि नै प्रहरीले अपमानजनक भाषा प्रयोग गरेका छन्, जुन भाषा विनजस्तो मानसिक स्वास्थमा समस्या भएका मानिससँग कुराकानी गर्दा प्रयोग गर्नु हुँदैन थियो । एनवाइपीडीले विन मारिए लगत्तै झुटो बोल्न थालेको थियो जसलाई भिडियो फुटेजले प्रष्ट पार्छ । भिडियो फुटेजले प्रहरी आएर कसरी एकपक्षीय रुपमा पटक पटक अवस्था भड्काउन प्रयास गरे र संकट सिर्जना गरे भन्ने देखाउँछ ।”
कमिटीले थप भनेको छ, “प्रहरीले विन र उनको परिवारसँग कुरा गर्ने वा आफूले खडा गरेको संकट मत्थर पार्ने कुनै प्रयास गरेका छैनन् । उनीहरुले रुखो आदेश दिने, टेजर र गोली हान्ने काम मात्र गरेका छन् । प्रहरीले विनलाई पटक पटक टेजर र गोली हानेर केही मिनेटभित्रै गरेको यो क्रुर हत्या हो । उनीहरु कति क्रुर थिए भने विनको आमा र उनको भाइ नमारिनु चमत्कार हो । प्रहरी अधिकृत साल्भाटोर एलंगी र म्याथ्यु सियानफ्रोक्रोलाई तत्काल बेतलवी निलम्बन गरिनुपर्छ, बर्खास्त गरिनुपर्छ र कानूनी कारवाही अघि बढाउनु पर्छ ।”
साथै मेयर आडमले उनको प्रशासनले किन एलंगी र सियानफ्रोकोको नाम सार्वजनिक गर्न अस्वीकार गरेको हो भन्ने प्रश्नको जवाफ दिनुपर्ने कमिटीको भनाई रहेको छ । साथै, उनले यो घटनामा वर्षौंको ढाकछोप र अवरोध खेपेको कावास्की ट्राविक परिवारको नियति नदोहोरिने सुनिश्चितता गर्नुपर्ने पनि बताएको छ ।
एनवाइपिडि प्रहरी अधिकृत साल्भाटोर एलंगी र म्याथ्यु सियानफ्रोकोले गत मार्च २७, २०२४ मा आफ्नै घरमा रहेका बेला बंगाली मूलका १९ वर्षे विन रोजारियालाइ गोली हानी हत्या गरेका थिए । उनलाई घरकै किचेनमा आमा र भाइको अघि मारिएको थियो । एनवाइपिडिले विन रोजारियो मारिएको बडि क्यामेराको भिडियो फुटेज, प्रहरी अधिकृतको नाम र उनीहरुको रोजगारीको अवस्था सम्बन्धी सूचना सार्बजनिक गरेन ।









