संयुक्त अरब इमिरेट्स (यूएई) का उपराष्ट्रपति एवं प्रधानमन्त्री र दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तोमकी छोरी शिखा मह्रा बिन्ट मोहम्मद बिन रसिद अल मक्तोमले इन्स्टाग्राममार्फत पतिसँग सम्बन्ध विच्छेद (डिभोर्स) को घोषणा गरेकी छन् ।
दुबईकी राजकुमारी शिखाले पति शेख मना बिन मोहम्मद बिन रसिद बिन मना ‘अरू साथीसँग व्यस्त भएको’ आरोप लगाउँदै आफूले सम्बन्ध विच्छेद गरेको बताएकी उल्लेख गर्दै भनेकी छन्, ‘प्रिय श्रीमान् ! तपाईं अन्य साथीसँग व्यस्त हुनुहुन्छ यसैले म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु । म तपाईंलाई डिभोर्स दिन्छु। म तपाईंलाई डिभोर्स दिन्छु। म तपाईंलाई डिभोर्स दिन्छु। आफ्नो ख्याल राख्नु । तपाईंकी पूर्वपत्नी !’
मुस्लिम धर्म अनुसार श्रीमान् श्रीमतीबीच सम्बन्ध विच्छेदका लागि तीन पटक तलाक (सम्बन्ध विच्छेदको घोषणा) उच्चारण गर्ने पनि सम्बन्ध विच्छेद हुन्छ ।
२९ वर्षकी शिखा उनको सुन्दरता र बन्द मुस्लिम समुदायकी भएर पनि ग्ल्यामरस फोटो तथा भिडियोले सधै चर्चामा रहन्थिन । शिखाको जरा इमिराती र ग्रिक दुवै हुन्, किनकि उनकी आमा जो ग्रिगोराकोस ग्रिसकी हुन् ।
प्रारम्भिक शिक्षा दुबईको एक निजी विद्यालयबाट प्राप्त गरेपछि शिखा उच्च शिक्षाका लागि लन्डन गएकी थिइन् । शिखा मह्रा सामाजिक कार्य र महिला सशक्तीरणको वकालत र स्थानीय डिजाइनरहरूको समर्थनका लागि पनि परिचित छिन् । उनी घोडसवारीको सौखिन हुन् भने धेरै घोडा सवारी कार्यक्रममा भाग पनि लिइसकेकी छन् ।
शिखाले मे २०२३ मा शेख मना बिन मोहम्मद बिन रसिद बिन मनासँग विवाह गरेकी थिइन् । उनले यसै वर्षको मे महिनामा छोरीलाई जन्म दिएकी थिइन् । छोरी जन्माएको दुई महिनामै उनले सार्वजनिक रूपमा सम्बन्धविच्छेदको घोषणा गरेकी छन् ।