२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

पूर्वमन्त्री गोबिन्दराज जोशी भ्रष्टाचारी ठहर



मुद्दा चलेको २१ बर्षपछि पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतबाट समेत भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतमा मुद्दा दायर भएको २१ वर्षपछि उनको मुद्दा किनारा लागेको हो । यसअघि विशेष अदालतबाट पनिन१२ बर्षअघि दोषी ठहर भएको थियो । आइतबार पूर्वमन्त्री जोशीको मुद्दा सर्वोच्चले छिनोफानो गरेको हो । विशेषले तोकेको कैद सजाय र जरिवाना भने सर्वोच्च अदालतले घटाइदिएको छ ।

३ करोड ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० पुस २८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले १३ वर्ष कैद सजायको माग गरेको थियो । तर म्याद गुज्रेको भन्दै मुद्दामा प्रवेश नै नगरी विशेष अदालतका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी तथा सदस्यद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराले २०६३ कात्तिक ३० मा खारेज गरिदिएका थिए ।

विशेषको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गर्‍यो । ५ वर्षपछि २०६८ पुस २४ मा सर्वोच्चका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले जोशीविरुद्धको मुद्दा खारेज गर्ने बिशेष अदालतको निर्णय उल्ट्याउँदै पुनः तथ्यमा प्रवेश गरेर फैसला गर्नुपर्ने ठहर गरेको थियो ।

विशेषका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ साउन १० मा जोशीलाई डेढ वर्ष कैदका अतिरिक्त २ करोड १६ लाख जरिवाना हुने फैसला गरेको थियो ।

विशेषको फैसलाविरुद्ध जोशीले २०६९ फागुन ६ मा सर्वोच्चमा पुनरावेदन गरेका थिए । १२ वर्षपछि सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई नौ महिना कैद सजाय र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । अख्तियारले अनुसन्धानका क्रममा तीन महिना थुनामा राखेका कारण जोशीले बाँकी करिब ६ महिना मात्र कैद सजाय भुक्तान गर्नुपर्नेछ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ७ : ४८ बजे