नव-निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आफ्नो अर्बपति समर्थक एलन मस्क र विवेक रामास्वामीलाई नयाँ “सरकारी दक्षता विभाग” को नेतृत्व घोषणा गरेका छन्, भने फक्स न्युजका होस्ट पिट हेगसेथलाई रक्षामन्त्रीको रूपमा नियुक्त गरेका छन् । चुनाव जितेको केही दिनपछि ट्रम्पले आफ्ना मुख्य समर्थकहरूलाई आफ्नो दोस्रो इनिङको विभिन्न भूमिकाहरूमा नियुक्त गरेका छन् ।
अमेरिकी समाचार संस्था फोर्ब्सका अनुसार ट्रम्पले केही सेनेट-स्वीकृत मन्त्रिपरिषद्-स्तरका पदहरूको लागि व्यक्तिहरू चयन गरेका छन्, र उनले ह्वाइट हाउसको प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिसकेका छन्, यी पदहरुका लागि सिनेटको स्वीकृति आवश्यक पर्दैन । रक्षा, विदेश र आन्तरिक सुरक्षा मन्त्रालय, महान्यायाधिवक्तालगायतका शीर्ष पदहरु ट्रम्पका प्राथमिकतामा परेका छन् । न्यू योर्क टाइम्सका अनुसार, ट्रम्पले “डीप स्टेट” भन्ने गरिएकाका सदस्य मानिएका सरकारी कर्मचारीहरूलाई हटाउने उद्देश्यले काम गरिरहेका छन् ।
सरकारी दक्षता विभाग (डीओजीइ): एलन मस्क र विवेक रामास्वामी
विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई ट्रम्पले आफुले स्थापना गर्ने भनिएको सरकारी दक्षता विभाग (डीओजीइ) को प्रमुखमा चयन गरेका छन् । यस विभागमा मस्कसँगै लगानीकर्ता र पूर्व रिपब्लिकन प्राइमरीका उम्मेदवार विवेक रामास्वामी नियक्त गरिएको छ । ट्रम्पका अनुसार यो विभाग स्थापना गरिने छ र यसले सरकार बाहिरबाट “सल्लाह र निर्देशन” दिनेछ । “संघीय प्रशासनमा दक्षताका लागि सुधार गर्न” ध्यान केन्द्रित गर्नेछ, यसले अनावश्यक खर्च र नियामकलाई कटौती गर्ने काम गर्ने छ । ट्रम्पका कट्टर समर्थक मस्कले सुपर पीएसीको नाममा ट्रम्पको चुनावमा १० करोड डलर भन्दा बढी दान गरिसकेका छन् ।
रक्षा मन्त्री: पिट हेगसेथ
ट्रम्पले मंगलबार पिट हेगसेथलाई रक्षामन्त्रीको रुपमा चयन गरेका छन् । युद्ध अनुभवी भन्दै उनले प्रशंसा गरेका हेगसेथले सेनामा रहेका बेला क्युबा, अफगानिस्तान र इराकमा सेवा गरेका थिए । यो अनुभवी व्यक्ति ‘कन्सर्न्ड भेटेरेन्स फर अमेरिका’ नामक एक रूढ़िवादी संगठनका पूर्व सिइओ हुन्, जसले ट्रम्पसँग भूपू सैनिक सम्बन्धी मामिलामा सल्लाह दिंदै आएका छन् । जसलाई संसारकै धनी व्यक्तिहरूमध्येका चार्ल्स जी. कोचको समर्थन प्राप्त छ । हेगसेथले फक्स न्यूजमा टीभी होस्टको रुपमा पनि काम गरेका छन् ।
सीआईए निर्देशक: जोन रटक्लिफ
पूर्व राष्ट्रिय गुप्तचर निर्देशक जोन रटक्लिफले सीआईएको निर्देशकको जिम्मेवारी पाएका छन् । पूर्व टेक्सासको प्रतिनिधिसभा सदस्य रटक्लिफले २०२० देखि २०२१ सम्म राष्ट्रिय गुप्तचर निर्देशकको रूपमा कार्यरत थिए । उनले ट्रम्पको अघिल्लो कार्यकालमा मुख्य गुप्तचर सल्लाहकारको भूमिका निभाएका थिए । राष्ट्रिय गुप्तचर निर्देशकको रूपमा, रटक्लिफले अघोषित रुसी गुप्तचर जानकारी सार्वजनिक गरेका थिए, जसले २०१६ मा हिलारी क्लिन्टनले ट्रम्पलाई रसिया र डेमोक्रेटिक नेशनल कमिटीमा साइबर हमलासँग जोड्ने योजना स्वीकृत गरेको दाबी गरिएको थियो । डेमोक्र्याटहरूले रटक्लिफको यस कदमको आलोचना गरेका थिए, उनलाई ट्रम्पलाई सहयोग पुर्याउन अपुष्ट जानकारीलाई राजनीतीकरण गरेको आरोप लागेको थियो ।
ह्वाइट हाउस कानूनी सल्लाहकार: विलियम जोसेफ म्याकगिनले
ट्रम्पले पूर्व ह्वाइट हाउस मन्त्री र शीर्ष जीओपी वकिल विलियम म्याकगिनलेलाई आफ्नो ह्वाइट हाउस कानूनी सल्लाहकारको रूपमा चयन गरेका छन् । म्याकगिनलेलाई ट्रम्पको २०१६ को राष्ट्रपतीय अभियानमा ल्याइएको थियो र रिपब्लिकन राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधिहरू सुरक्षित गर्न जिम्मेवारी दिइएको थियो । उनले २०१७ देखि २०१९ सम्म ट्रम्पको ह्वाइट हाउस मन्त्रीको रूपमा काम गरेका थिए ।
मध्यपूर्वका लागि विशेष दूत: स्टिभन सी. विटकोफ
एक रिपब्लिकन चन्दादाता र रियल स्टेट लगानीकर्ता स्टिभन विटकोफ ट्रम्पको मध्यपूर्वका लागि विशेष दूतको रूपमा चयन भएका छन् । उनी मियामी विश्वविद्यालयको सल्लाहकार बोर्डका अध्यक्ष र विटकोफ नामक रियल इस्टेट कम्पनीका सिइओ हुन्, जुन उनले १९९७ मा स्थापना गरेका थिए । उनी ट्रम्पका पुराना साथी र उनका गल्फ पार्टनरसमेत हुन् । विटकोफले एनबीसीलाई भनेका छन् कि उनी एक पटक ट्रम्पसँग थिए, जब उनमाथि दोस्रो पटक आक्रमणको प्रयास भएको थियो, जहाँ सुरक्षा एजेण्टहरूले ट्रम्पलाई सुरक्षित रूपमा गल्फ कोर्सबाट बाहिर ल्याएका थिए ।
इजरायलका लागि राजदूत: माइक हक्काबी
ट्रम्पले मंगलबार पूर्व अर्कान्सस गभर्नर माइक हक्काबीलाई इजरायलका लागि राजदूतको रूपमा नियुक्त गरेका छन् । हक्काबीले २७ वर्ष सेनाको विशेष बलमा सेवा गरेका थिए । उनी इजरायलका कडा समर्थक हुन् र हमाससँग युद्धविरामका लागि बाइडेन प्रशासनको आह्वानको आलोचना गरेका छन् । हक्काबीले इजरायललाई पश्चिमी किनाराका भागहरूमा कब्जा जमाउन र उक्त क्षेत्रमा इजरायली बासिन्दाहरूको बसोबासको वकालत वकालत गर्छन् । हक्काबीले नियमित रूपमा इजरायल भ्रमणका लागि इभान्जेलिकल समूहहरूलाई नेतृत्व गर्दै आएका छन् ।
गृह सुरक्षा सचिव: क्रिस्टि नोएम
ट्रम्पले गृह सुरक्षा विभागका लागि मन्त्रीको रूपमा दक्षिण डकोटा गभर्नर क्रिस्टि नोएमलाई छनोट गरेका छन् । नोएम ट्रम्पका पुरानो समर्थक हुन्, र उनलाई उपराष्ट्रपति पदको लागि पनि सम्भावित उम्मेदवार मानिएको थियो । उनले साइबर सुरक्षा, आतङ्कवाद र आपतकालीन अवस्थाको सम्बोधन लगायत ट्रम्पका आप्रवासन योजनाहरूलाई लागू गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछिन् ।
पर्यावरण संरक्षण एजेन्सी प्रशासक: ली जेल्डिन
ट्रम्पले ली जेल्डिनलाई पर्यावरण संरक्षण एजेन्सीको नेतृत्व सुम्पिएका छन् । जेल्डिन “अमेरिका फर्स्ट नीति” का लागि लड्ने एक साँचो योद्धा भएको ट्रम्पको भनाई रहेको छ । दुई वर्षअघि न्यूयोर्कका गभर्नरको लागि उम्मेदवारी दिएका जेल्डिनले अमेरिकी व्यवसायको शक्ति विस्तार गर्न र उच्च वातावरणीय मापदण्ड कायम राख्न तीव्र र उचित नियामक निर्णयहरू सुनिश्चित गर्ने वचन दिएको बताइएको छ ।