२२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026

यूक्रेन र युरोपविनाको अमेरिका–रुस बार्ताले निम्त्याएको तरंग



युक्रेनी र यूरोपको प्रतिनिधिबिनै अमेरिकी र रुसका उच्च अधिकारीहरुबीच भएको बार्ताले संसारभर तरंग पैदा गरेको छ । यसले बिशेष गरेर रुससँगको युद्धरत मुलुक यूक्रेनलाई तरंगित बनाएको छ ।

अझ एक कदम अघि बढेर रुस–युक्रेनको युद्ध रोक्ने शक्ति आफुसँग भएको भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ट्रम्पकै बिरुद्धमा पुगेका छन् । उता अमेरिकाको मुख्य साझेदार यूरोप पनि ट्रम्पको वेवास्ताले अजित भएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रूसद्वारा सिर्जित “भ्रमपूर्ण जानकारीको वातावरण” मा रहेको आरोप लगाएका छन् ।

उनको टिप्पणी ट्रम्पले साउदी अरेबियामा आयोजित वार्तामा रूससँगको छलफलपछि युक्रेन युद्ध अन्त्यको सम्झौताप्रति बढी आत्मविश्वास व्यक्त गरेपछि आएको हो । सो वार्तामा युक्रेनलाई सहभागी नगराइएकामा जेलेन्स्कीले असन्तोष जनाएका थिए ।

मङ्गलबार, तीन वर्षपछि पहिलो पटक अमेरिका र रूसले उच्च-स्तरीय वार्तामा संलग्न हुने सहमति गरेका छन् । वार्तापछि ट्रम्पले जेलेन्स्कीप्रति असन्तोष व्यक्त गर्दै, युक्रेनले पहिले नै सम्झौता गर्न सक्ने बताएका थिए ।

जेलेन्स्कीले भने, “राष्ट्रपति ट्रम्पलाई म सम्मान गर्छु, तर उनी रूसद्वारा सिर्जित भ्रमपूर्ण जानकारीको संसारमा छन् ।” उनले युक्रेनविरुद्ध धेरै गलत सूचनाहरू फैलिएको दाबी गर्दै ५८% युक्रेनी जनताले आफ्नो नेतृत्वमा विश्वास व्यक्त गरेको सर्वेक्षण उल्लेख गरे ।

मंगलबार साउदी अरेवियामा रूस-अमेरिका वार्ताप्रति रूसका सञ्चारमाध्यमले सकारात्मक प्रतिक्रिया जनाएका छन् । रूस समर्थित अखबार मस्कोभ्स्की कोमसोमोलेट्सले ट्रम्प युक्रेनमा जित हासिल गरिरहेको पक्षसँग वार्ता गरिरहेको भन्दै केही सम्झौता गर्न बाध्य हुने टिप्पणी गरेको छ ।

यसैबीच, रूसका विदेशमन्त्री सर्गेई लावरोभले युक्रेन संकटको मूल कारण हटाउन कुनै विकल्प नरहेको बताउँदै रूसको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए । युक्रेन युद्ध रूसद्वारा तीन वर्षअघि गरिएको पूर्ण-स्तरको आक्रमणबाट सुरु भएको हो, जुन आठ वर्षअघि रूसले क्राइमिया एकतर्फी रुपमा कब्जा गरेपछि उत्पन्न तनावको निरन्तरता हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ४ : ५३ बजे