काठमाडौँको तीनकुनेलगायतका क्षेत्रमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवानावापत काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गरेको छ ।
शाहका नाममा महानगरपालिकाले विभिन्न ८ वटा शीर्षकमा जरिवाना पत्र काटेको छ । एउटा शीर्षकमा १ लाख ३० हजार, ६ वटा शीर्षकमा १-१ लाख र एउटा शीर्षकमा ६३ हजार गरी ७ लाख ९३ हजार रूपैयाँको बिल महानगरपालिकाले निर्मल निवास पठाउन लागेको हो ।
तीनकुने वितण्डाको मुख्य दोषी ठहर गर्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो जरिवाना तोकेको हो । सिनामंगल क्षेत्रमा सडकपेटीमा जथाभावी फोहोर गरेको, तीनकुनेमा रुखबिरुवा र रेलिङ तोडफोड गरेको, तीनकुने आइल्यान्डमा तोडफोड गरेको, तीनकुनेकै सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको, महानगरपालिकाको दमकलसहित अग्नि नियन्त्रकहरूलाई ढुंगामुढा गरी दमकल फुटाएको लगायतका आरोपमा यो जरिवाना तोकेको महानगरपालिकाले पत्रमा उल्लेख गरेको छ ।
पूर्वराजा शाहका नाममा कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको १ लाख, महादेवस्थानको सडक तथा पेटीमा जथाभावी फोहोर गरेको १ लाख, तीनकुनेको सडक तथा पेटीमा जथाभावी फोहोर गरेको शीर्षकमा अर्को १ लाख रूपैयाँ जरिवाना तोकेको छ ।
यस्तै, जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको १ लाख, बालकुमारीको सडक तथा पेटीमा जथाभावी फोहोर गरेको १ लाख, सिनामंगलको सडक तथा पेटीमा जथाभावी फोहोर गरेको १ लाख रूपैयाँ जरिवाना तिर्न भनेको छ।
महानगरपालिकाले सबैभन्दा ठूलो जरिवानाचाहिँ दमकल तोडफोडवापत १ लाख ३० हजार रूपैयाँ जरिवाना तोकेको छ । यस्तै तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड गरेवापत ६३ हजार रूपैयाँ जरिवाना तोकेको छ ।
शनिबार बिहानैदेखि महानगरको टोली प्रदर्शनकारीले विभिन्न संरचनामा पुर्याएको क्षतिको विवरण संकलन गरेर उक्र्नत जरिवाना तोकेको हो ।

















