१० असार २०८३, बुधबार | Thu Jun 25 2026

धनुषामा सडक खाल्डोमा डुबेर दुई बालकको मृत्यु, तीन वर्षमा मधेशमा ५४२ को ज्यान



धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा डुबेर मंगलबार साँझ दुई बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साह रहेका छन्। दुबै बालक दिउँसो खेल्न निस्किएपछि घर नफर्किएकाले परिवारले खोजी थालेका थिए। साँझ नजिकको खाल्डोमा उनीहरू मृत अवस्थामा फेला परे।

खाल्डो जयबाबा कन्स्ट्रक्सनले सडक निर्माणका क्रममा १५ दिनअघि खनेको थियो। निरन्तरको वर्षाले उक्त खाल्डोमा पानी जमेको थियो। निर्माण ठेक्का राजेन्द्रकुमार मण्डलको हो।

यो घटनाले मधेशमा डुबेर बालबालिकाको मृत्यु हुने क्रम नरोकेको पुष्टि गरेको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार चालु आर्थिक वर्षको १० महिनामा धनुषामा मात्रै ३९ जनाको डुबेर मृत्यु भएको छ, जसमध्ये २३ बालबालक छन्।

प्रदेशभर पछिल्ला तीन वर्षमा डुबेर ५४२ जनाको मृत्यु भएको छ। तीमध्ये ३२१ जना बालबालक छन्, जुन कुल मृत्युमध्ये ५९ प्रतिशत हो।

यस्तो छ प्रहरी तथ्यांक:

सर्लाहीमा ३७ मध्ये १५ बालबालक

सप्तरीमा २९ मध्ये १५ बालबालक

महोत्तरीमा २७ मध्ये २१ बालबालक

पर्सामा १८ मध्ये ९ बालबालक

सिरहामा १२ मध्ये ९ बालबालक

रौतहटमा ३० मध्ये १८ बालबालक

स्थानीय निकाय र निर्माण कम्पनीहरूको लापरवाहीका कारण खाल्डा नछोपिँदा वर्षेनि बालबालकको मृत्यु हुने क्रम बढ्दो छ। रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीका अनुसार सडक निर्माणकै कारण धेरै बालबालकले ज्यान गुमाएका छन्।

समाजकल्याण मन्त्री प्रमोद जयसवालले बालबालिकाको मृत्यु दर चिन्ताजनक भएको बताएका छन् । “अहिलेसम्म यसबारे गम्भीर पहल भएको छैन,” उनले भने, “अब प्रदेश सरकारले प्रहरी र स्थानीय तहसँग मिलेर नीति बनाउनुपर्छ।”

प्रकाशित मिति : ९ जेष्ठ २०८२, बिहिबार  ८ : ४० बजे