अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्वनिकट सहयोगी एलन मस्कप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रपतिको प्रमुख बजेट विधेयकको आलोचना गरेपछि ट्रम्पले मस्कप्रति “धेरै नै आश्चर्यचकित” र “निराश” भएको प्रतिक्रिया दिएका हुन् ।
“एलन र मबीच पहिले राम्रो सम्बन्ध थियो । अब त्यो यथावत् रहनेछ कि छैन थाहा छैन,” ट्रम्पले बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँग भने ।
मस्कले ट्रम्पको कर कटौती र सरकारी खर्चमा व्यापक कटौती गर्ने योजना माथि लगातार आलोचना गरेका छन् । उक्त योजनाको प्रस्ताव हाल कांग्रेसमा रहेको छ । मस्कको लबिङप्रति ट्रम्पको यो अहिलेसम्मको सबैभन्दा कडा टिप्पणी हो ।
यसको जवाफमा, मस्कले एक्स (पूर्व ट्विटर) मा ट्रम्पमाथि कटाक्ष गर्दै लेखेका छन्, “यत्रो नम्रता विहीनता! म नभएको भए ट्रम्पले चुनाव जित्न सक्दैनथे ।”
मस्कले गत हप्ता ‘सरकारी कार्यदक्षता विभाग’को प्रमुख पदबाट राजीनामा दिएका थिए, जहाँ उनी १२९ दिन मात्र कार्यरत रहे । मे ३० मा आयोजित एक विशेष पत्रकार सम्मेलनमा ट्रम्पले उनलाई ‘गोल्डेन की’ (सुनको साँचो) प्रदान गरेर सम्मान गरेका थिए ।
तर त्यसयता मस्कले ट्रम्पको बजेट विधेयकलाई “घृणास्पद र अस्वीकार्य” भन्दै कडा आलोचना गरेका छन् । उनले एक्समा लेखेका छन्, “जसले यो विधेयकमा मतदान गर्यो, लाज लाग्नुपर्छ: तपाईंहरूलाई थाहा छ तपाईंहरूले गलत गर्नुभयो ।”
उक्त विधेयक प्रतिनिधि सभाबाट अधिकांश रिपब्लिकनको समर्थनमा पारित भएको थियो, केही ट्रम्प समर्थक र सबै डेमोक्र्याटहरूले भने यसको विरोध गरेका थिए ।
“हामीले यो विधेयकमा असाधारण काम गरिरहेका छौं” जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने, “म निकै निराश छु, किनभने एलनलाई यो विधेयकको आन्तरिक प्रक्रिया लगभग सबैभन्दा राम्रो थाहा थियो। अचानक उनले विरोध जनाउन थाले ।”
उनले थपे, “अहिलेसम्म उसले मप्रति व्यक्तिगत रूपमा नराम्रो भनेको छैन, तर सायद अब त्यो पनि आउँछ ।”
सरकारी खर्चमा कठोर कटौती गर्ने जिम्मेवारी पाएका मस्कले यूएनएआइडी जस्ता निकायहरू खारेज गर्दै हजारौं कर्मचारी हटाएका थिए । उनले लगभग १८० अर्ब डलर बचत गरेको दाबी गरे पनि त्यो तथ्य विवादास्पद छ र प्रारम्भिक दुई ट्रिलियन डलर कटौती लक्ष्यभन्दा निकै कम हो ।








