जीउँदै इट्टा भट्टामा मान्छै हालेर मारेको अभियोग लागेका कांग्रेस नेता मोहम्मद आलमलाई सफाइ दिने उच्च अदालत वीरगञ्जका न्यायाशीस डा. खुसीराम थारूलाई मोसो प्रहार गरिएको छ । नेकपा बहुमतका कार्यकर्ताहरूले थारूलाई मोसो प्रहार गरेका हुन् । प्रहरीले घटनामा संलग्न तीनै जनालाई पक्रा गरेको छ ।
उनीहरूले केही दिनअघि ज्यान मुद्दामा पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको इजलासको निर्णयको विरोध गरेका थिए । उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारूमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । पछि थप एक जनालाई पक्राउ गरेको छ ।
थारूसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो । जनविरोधी फैसला गरेको भन्दै थारूलाई मोसो प्रहार गरिएको नेकपा बहुमतका कार्यकर्ताले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, मोसो प्रहार गर्नेहरूमा प्यूठानको गौमुखी गाउँपालिका–६ घर भइ हाल ललितपुरको कुपन्डोल बस्दै आएका ३८ वर्षीय अविनाश भन्ने किशोर कुँवर, सर्लाहीको बरहथवा नगरपालिका–२ का ४३ वर्षीय पदम बहादुर मगर र सिराहाको गोलबजार नगरपालिकाका ४८ वर्षीय गर्भु महतो रहेका छन् ।
कुँवर नेकपा बहुमतका केन्द्रीय सदस्य हुन् । त्यस्तै, मगर सर्लाहीका जिल्ला इन्चार्ज र महतो सिराहाका जिल्ला समिति सदस्य रहेका छन् ।








