२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

इलोन मस्कले तेस्रो राजनीतिक पार्टी गठन गरे, ट्रम्पले भने, ‘हस्यास्पद’



विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला र स्पेसएक्सका सीईओ इलोन मस्कले शनिबार नयाँ राजनीतिक पार्टी ‘अमेरिका पार्टी’ गठनको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको चर्को विवाद र उनको हालै पारित घरेलु नीति विधेयकप्रति असहमतिका कारण मस्कले यो कदम चालेका हुन् ।

मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, “जब कुरा देशलाई बर्बाद पार्ने खर्च र भ्रष्टाचारको आउँछ, हामी एकदलीय व्यवस्थामा बाँचिरहेका छौँ, लोकतन्त्रमा होइन। आज, अमेरिका पार्टी गठन गरिएको छ ताकि तपाईंको स्वतन्त्रता फिर्ता दिइयोस् ।”

ट्रम्पले भने मस्कको नयाँ पार्टी गठनको घोषणालाई “हास्यास्पद” भन्दै यसले भ्रम मात्र सिर्जना गर्ने बताएका छन् । न्यूजर्सीमा आइतबार एयर फोर्स वनमा चढ्नुअघि ट्रम्पले भने, “तेस्रो पार्टी सुरु गर्नु हास्यास्पद हो । रिपब्लिकन पार्टीले ठूलो सफलता हासिल गरेको छ । डेमोक्र्याटहरूले आफ्नो बाटो गुमाएका छन्, तर यो सधैँ दुई दलीय प्रणाली रहँदै आएको छ । तेस्रो पार्टीले भ्रम मात्र थप्छ । उनले तेस्रो पार्टी कहिल्यै सफल नभएको उल्लेख गर्दै मस्कले यसमा रमाइलो मात्र गर्न सक्ने पनि बताए ।

ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा मस्कलाई “पूर्ण रूपमा बिग्रिएको” र “दुर्घटनामा परेको ट्रेन” को संज्ञा दिएका छन् । उनले मस्कले समर्थन गरेको इलेक्ट्रिक भेहिकल (ईभी) म्याण्डेटलाई पनि आलोचना गर्दै भने, “मैले उनलाई मेरो अभियानमा ईभी कर क्रेडिट हटाउने कुरा स्पष्ट बताएको थिएँ, र उनले त्यसमा कुनै समस्या नभएको जवाफ दिएका थिए ।”

मस्क, जो ट्रम्पको २०२४ को राष्ट्रपति अभियानमा सबैभन्दा ठूलो व्यक्तिगत दाता थिए र हालसम्म उनको नजिकको सल्लाहकारका रूपमा सरकारको खर्च कटौतीमा नेतृत्वदायी भूमिका निभाउँदै आएका थिए, तर ट्रम्पको ‘बिग ब्यूटिफुल बिल’ को कडा आलोचक बने । उक्त विधेयकले सङ्घीय घाटालाई खर्बौँ डलरले बढाउने अनुमान गरिएको छ। यो विधेयक गत शुक्रबार ट्रम्पले कानुनमा हस्ताक्षर गरेपछि मस्क र ट्रम्पबीचको सम्बन्धमा ठूलो दरार आएको हो। मस्कले विधेयकको आलोचना गर्दै केही आक्रोशपूर्ण पोस्टहरू हटाएर माफी मागे पनि पछिल्ला दिनमा विवाद फेरि चर्किएको छ ।

मस्कले नयाँ पार्टी आर्थिक रूपमा अनुशासित हुने र खर्च नियन्त्रणमा जोड दिने बताएका छन् । यद्यपि, पार्टीको विस्तृत नीति र कार्यक्रमबारे उनले थप खुलासा गरेका छैनन्। मस्कले एक्समा आगामी मध्यावधि निर्वाचनमा पार्टीले सिमित सङ्ख्यामा हाउस र सिनेटका उम्मेदवारहरूलाई समर्थन गर्ने उल्लेख गरेका छन्। हालसम्म मस्कले अमेरिका पार्टीलाई कानुनी रूपमा दर्ता गर्न सङ्घीय निर्वाचन आयोग (एफईसी) मा कुनै कदम चालेको सङ्केत देखिएको छैन ।

अमेरिकाको दुई दलीय प्रणालीलाई लामो समयदेखि आलोचना हुँदै आएको छ, तर विगतमा तेस्रो पार्टी गठनका प्रयासहरू असफल भएका छन् । सन् १९९२ मा अर्बपति रस पेरोले स्वतन्त्र उम्मेदवारको रूपमा राष्ट्रपति चुनावमा करिब १९% मत प्राप्त गरे पनि कुनै राज्य जित्न सकेनन् । मस्कको नयाँ पार्टीले पनि यस्तै चुनौतीहरू सामना गर्नुपर्ने विज्ञहरू बताउँछन् । अभियान वित्त र राजनीति विज्ञानका जानकारहरूका अनुसार, नयाँ पार्टी गठन गर्न आर्थिक र कानुनी रूपमा जटिल छ, र मतदाता तथा उम्मेदवारहरू तेस्रो दलमा आकर्षित हुन हिचकिचाउँछन् ।

ट्रम्पले मस्कका कम्पनीहरूसँगको सरकारी ठेक्काहरू पुनरावलोकन गर्न सकिने धम्की दिएका छन् । उनले मस्कले नेतृत्व गरेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डीओजीई) लाई “राक्षस” भन्दै यसले मस्कलाई नै “खान सक्ने” टिप्पणी गरेका छन् । ट्रम्पका समर्थक इन्भेस्ट अजोरियाका सीईओ जेम्स फिशब्याकले मस्कको नयाँ पार्टी गठनले टेस्लाको शेयरधारक र कर्मचारीहरूलाई हानि पुग्ने भन्दै टेस्लाको बोर्डलाई उनलाई नियन्त्रण गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १२ : ०३ बजे