भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रमा यही साउन २० गते आएको भीषण वर्षा र त्यसपछिको बाढीमा परी नेपालका करिब १७ भन्दा बढी नेपाली नागरिक सम्पर्कविहीन भएका छन् ।
जाजरकोटको कुशे गाउँपालिका–२ का करिब १३ जना नेपाली नागरिक हराएको आशंका गरिएको छ । गाउँपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै वडाका १३ जना तथा अन्य वडाका केही व्यक्तिहरू बाढीपछिदेखि सम्पर्कमा नरहेको जानकारी दिएको हो ।
गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा हराएकाहरूको खोजी तथा उद्धार कार्यमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय र भारतीय पक्षसँग समन्वय गरी तत्काल कूटनीतिक पहल गर्न प्रदेश तथा संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
उक्त बाढीमा परेर बर्दिया जिल्लाका पनि ४ जना नेपाली नागरिक सम्पर्कविहीन भएको सामाजिक सञ्जालमार्फत जनाइएको छ । उनीहरू पनि सोही क्षेत्रमै रहेका कारण बाढीमा परेर हराएको हुन सक्ने आशंका गरिएको छ ।
यसबीच, नेपाली पक्षले घटनाबारे थप जानकारी संकलन गर्दै उद्धार र खोजी कार्यमा सक्रियताका साथ पहल गर्न भारत सरकारसँग सम्पर्क बढाउनुपर्ने माग गरिएको छ ।









