२२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026

अमेरिकी सरकारद्वारा नेपाली सेनालाई दुई विमान प्रदान, पहिलो पटक नेपालमा एयर एम्बुलेन्स



अमेरिकी सरकारले नेपाली सेनालाई दुईवटा विमान प्रदान गरेको छ । ती विमान शनिबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेका छन् ।

सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार अमेरिकी पक्षले प्रदान गरेका विमानमध्ये एउटा स्काईट्रक र अर्को एयर एम्बुलेन्स हो । उनले निकट भविष्यमा औपचारिक कार्यक्रममार्फत यी विमान नेपाली सेनालाई हस्तान्तरण हुने जानकारी दिए ।

बस्नेतका अनुसार स्काईट्रकलाई विशेष गरी विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्य मा प्रयोग गरिनेछ भने एयर एम्बुलेन्सलाई सुत्केरी, घाइते र बिरामीको उद्धार तथा आकस्मिक उपचार का लागि प्रयोग गरिनेछ ।

यसअघि सन् २०१९ मा पनि अमेरिकी सरकारले नेपाली सेनालाई दुई विमान प्रदान गरेको थियो । नयाँ विमानसँगै सेनासँगको कुल विमान संख्या २० पुगेको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाली सेनाले प्राप्त गरेको एयर एम्बुलेन्स नेपालमै पहिलो हो । हालसम्म कुनै पनि निजी वा व्यावसायिक उड्डयन कम्पनीसँग डेडिकेटेड एयर एम्बुलेन्स थिएन ।

सेनाको एयर एम्बुलेन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएमा अझ प्रभावकारी हुनेछ । तर यो सैनिक विमान भएकाले अनुमति लिन केही चुनौती रहने उल्लेख गरिएको छ ।

नेपाली सेनाले भने यसलाई नेपालकै स्वास्थ्य सेवा र आकस्मिक उद्धार क्षमतामा नयाँ अध्यायको सुरुवात हुने बताएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ९ : ५४ बजे