संगीनी राना
आजको प्रतिस्पर्धात्मक युगमा आर्थिक साक्षरता सबैका लागि अत्यावश्यक कौशल बनेको छ । यसले व्यक्तिलाई सही निर्णय लिन, जटिल आर्थिक प्रणाली बुझ्न, र भविष्य सुरक्षित गर्न सक्षम बनाउँछ । आर्थिक ज्ञानले मात्र दीर्घकालीन स्वतन्त्रता र स्थायित्व प्राप्त गर्न सकिन्छ ।

तर आर्थिक ज्ञानको कमीले ऋणको भारीको बोझ, खराब क्रेडिट, दिवालियापन, घरजग्गा गुमाउनु जस्ता समस्यामा धकेल्छ । धेरै मानिससँग बजेट, बचत योजना वा आपतकालीन कोष हुँदैन, जसले गर्दा उनीहरू तलबमा मात्र निर्भर रहन्छन् । अझ आप्रवासीहरूका लागि यसमा थप चुनौतीहरु छन् ।
आप्रवासीहरूले आर्थिक साक्षरताको अभावमा अझ गम्भीर समस्या भोग्छन्:
– बैंकिङ प्रणाली र क्रेडिट स्कोरबारे थाहा नहुने
– अत्यधिक बिल र ऋणको दबाब
– बचत र लगानी ज्ञानको कमी
– शिक्षा, छात्रवृत्ति र स्वास्थ्य बीमा योजनाबारे जानकारीको अभाव
– सम्पत्ति हस्तान्तरण र जीवन बीमा व्यवस्थापनमा कठिनाइ
– भाषागत अवरोधले आर्थिक प्रणाली बुझ्न असजिलो
यी चुनौतीहरूले उनीहरूको दीर्घकालीन लक्ष्यहरु (जस्तै घर किन्न, शिक्षा सुनिश्चित गर्न वा अवकाशको लागि तयारी) प्रभावित पार्छ ।
आर्थिक साक्षरताको मूल्य
“आर्थिक साक्षरता भनेको जान्ने कुरा हो, र जानेरै गरिन्छ । शिक्षा भनेको हाम्रो आर्थिक लक्ष्य प्राप्त गर्नको लागि पहिलो पाइला हो” — ड्यागन जे. शार्प, क्विन्सबोरो नेशनल बैंक एण्ड ट्रस्ट
आर्थिक ज्ञानले ब्याजदर, बजेटिङ, र क्रेडिट स्कोर बुझ्न सजिलो बनाउँछ। यसले व्यक्तिलाई ऋणको फन्दाबाट जोगाउँछ र दीर्घकालीन सुरक्षाका लागि योजना बनाउन सहयोग गर्छ।
ऋण व्यवस्थापन र दीर्घकालीन योजना
आजको जीवनशैलीमा विद्यार्थी ऋण, क्रेडिट कार्ड, गाडी ऋण वा मोर्टगेज अपरिहार्य छन्। तर आर्थिक साक्षरताले यी ऋणलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न सिकाउँछ।
साथै, अवकाश (Retirement), शिक्षा, स्वास्थ्य, घर सुधार वा आकस्मिक खर्चका लागि योजनाबद्ध बचत नगरेसम्म भविष्य सुरक्षित हुँदैन।
अवकाश योजना: केवल पैसा होइन, जीवनशैलीको तयारी
अवकाश योजना भनेको काम छाडेपछि जीवन कसरी बिताउने भन्ने तयारी हो । यो केवल आर्थिक पक्ष मात्र नभई जीवनशैली, स्वास्थ्य र हेरचाहसँग पनि गहिरो सम्बन्धित हुन्छ ।
डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेस्का अनुसार अमेरिकामा वृद्ध हेरचाह खर्च निम्न अनुसार रहेका छन्:
Adult day care: $26,000 प्रति वर्ष
Assisted living: $70,800 प्रति वर्ष
Nursing home (semi-private): $111,325 प्रति वर्ष
Nursing home (private): $127,750 प्रति वर्ष
यी खर्चहरू निरन्तर बढ्दैछन् । औसत आयु पनि बढेको छ (पुरुष 75.8 वर्ष, महिला 81.1 वर्ष) । त्यसैले योजना बिना अवकाशको समय तनावपूर्ण हुन सक्छ ।
सामान्यतया अवकाशपछि हालको आम्दानीको करिब ८०% बराबर आवश्यकता पर्छ । उदाहरणका लागि, वार्षिक आम्दानी एक लाख डलर हुने व्यक्तिलाई करिब ८० हजार डलर प्रति वर्ष आवश्यक हुन्छ । यो खर्त २० वर्षका लागि १.६ मिलियन डलर हुन्छ ।
तीन आधारस्तम्भ
– आर्थिक स्थिरता र पारिवारिक यथार्थ
नेपालजस्ता समाजमा बालबच्चाले बुबाआमाको हेरचाह गर्ने परम्परा छ । तर आजको यथार्थमा हरेक बच्चाले यस्तो गर्न सक्दैन । त्यसैले आत्मनिर्भरता अनिवार्य छ ।
– स्वास्थ्य सुरक्षा
६० वर्षपछि स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो । सन्तुलित आहार, नियमित व्यायाम र नियमित स्वास्थ्य परीक्षण भविष्यका लागि सबभन्दा ठूलो लगानी हुन् ।
– सरकारी कार्यक्रमहरू
Social Security: कम्तीमा १० वर्ष काम गरेको आधारमा लाभ पाइन्छ।
Medicare: ६५ वर्ष वा माथिका, अपांगता भएका वा दीर्घ रोग भएका व्यक्तिलाई स्वास्थ्य बीमा सुविधा छ ।
निष्कर्ष
आर्थिक साक्षरता र अवकाश योजना जीवनलाई स्थिर र निश्चिन्त बनाउन आवश्यक पाइलाहरू हुन् । यसमा समावेश हुन्छ:
– पर्याप्त बचत
– स्वास्थ्यप्रति लगानी
– पारिवारिक यथार्थ बुझेर आत्मनिर्भर योजना
– आकस्मिक अवस्थाको तयारी
जति चाँडै योजना सुरु गरिन्छ, उति सुरक्षित भविष्य सुनिश्चित हुन्छ। तर सुरु गर्न कहिल्यै ढिलो हुँदैन—आजैबाट सुरु गर्न सकिन्छ।