६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

ट्रम्पले दावी गरेको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरियो मचाडोलाई



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका लागि लोकतन्त्रवादी अभियन्ता तथा विपक्षी नेतृ मारिया कोरियो मचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ ।

नर्वेजियन नोबेल इन्स्टिच्युट, ओस्लोमा शुक्रबार पुरस्कार घोषणा गर्दै नोबेल समितिले ५८ वर्षीया मचाडोलाई “हालैका वर्षहरूमा ल्याटिन अमेरिकामा नागरिक साहसको सबैभन्दा असाधारण उदाहरणहरूमध्ये एक” भन्दै सम्मान गरेको छ । समितिले उनलाई “भेनेजुएलाका जनताको लोकतान्त्रिक अधिकार प्रवर्द्धन गर्ने अथक कार्य” का लागि प्रशंसा गरेको छ ।

नोबेल समितिका अध्यक्ष जोर्गेन वाटने फ्राइडनेस ले मचाडोलाई “तानाशाहीबाट प्रजातन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण सङ्क्रमण हासिल गर्ने उनको संघर्ष” का लागि पुरस्कृत गरिएको बताए । मचाडोले वर्षौंदेखि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो मोरोसको १२ वर्षे शासनविरुद्ध अभियान चलाउँदै आएकी छन्, जसलाई धेरै राष्ट्रहरूले अवैध मान्दछन् ।

फ्राइडनेसले मचाडो गहिरो विभाजनमा रहेको राजनीतिक प्रतिपक्षका लागि प्रमुख र एकताबद्ध व्यक्तित्व बनेको बताए । उनले भने, “उनको जीवनमा गम्भीर खतरा हुँदाहुँदै पनि उनी देशमै रहिन्, जसले लाखौंलाई प्रेरित गरेको छ ।”

मचाडोलाई गत वर्षको राष्ट्रपति चुनावमा भाग लिनबाट रोक लगाइएको थियो, जहाँ मादुरोले छ वर्षको तेस्रो कार्यकाल जितेका थिए। यो चुनाव अन्तर्राष्ट्रिय मञ्चमा स्वतन्त्र र निष्पक्ष नभएको भन्दै खारेज गरिएको थियो ।

चुनावमा प्रतिबन्धित भएपछि पनि उनले विभाजित विपक्षी गुटलाई एकजुट गर्न सफल भइन् र उनको सट्टामा उम्मेदवार बनेका एड्मुन्डो गोन्जालेज लाई लाखौं भेनेजुएलाबासीले समर्थन गरे ।

सरकारी नियन्त्रणमा रहेको राष्ट्रिय निर्वाचन परिषद्ले मादुरोलाई विजयी घोषणा गरेपछि पनि, मतदान केन्द्रका मत परिणामहरूले गोन्जालेजले ठूलो अन्तरले जितेको देखाएको थियो । गिरफ्तारीको धम्कीका बाबजुद मचाडोले भूमिगत रूपमै आफ्नो अभियान जारी राखिन् । पुरस्कारप्रति प्रतिक्रिया दिँदै मचाडोले यो “सम्पूर्ण समाजको उपलब्धि” भएको बताएकी छन् ।

यो वर्षको पुरस्कारका लागि ३३८ उम्मेदवार मनोनीत भएका थिए । नोबेल पुरस्कार जित्ने तीव्र इच्छा राखेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प भने पुरस्कारबाट वञ्चित भएका छन् । उनले आफूले अन्त्य गरेको दाबी गरिएका “सात वटा युद्ध” लाई लिएर यो प्रतिष्ठित पुरस्कार पाउनुपर्ने भन्दै सार्वजनिक रूपमा पटकपटक अभिव्यक्ति दिँदै आएका थिए ।

पुरस्कार घोषणापछि ह्वाइट हाउसका अधिकारीले “नोबेल कमिटीले शान्तिभन्दा राजनीतिलाई प्राथमिकता दिएको प्रमाणित गरेको” प्रतिक्रिया दिएका छन् । यद्यपि, नोबेल अध्यक्ष फ्राइडनेसले कमिटीले अल्फ्रेड नोबेलको इच्छा र कार्यको आधारमा मात्र निर्णय गर्ने बताए ।

“प्रजातन्त्र विश्वभरि पछाडि हटिरहेको छ,” भन्दै नोबेल कमिटीले आफ्नो घोषणामा चेतावनी दिएको छ। फ्राइडनेसले मचाडोले नोबेल पुरस्कारका लागि राखिएका “सबै मापदण्ड पूरा गरेको” र “भविष्यका लागि आशाको प्रतीक” भएको बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ९ : २६ बजे