अमेरिकी वित्तीय व्यवसायी तथा यौन अपराधमा दोषी ठहर गरिएका जेफ्री एप्स्टिनको मृत्युको कारण पुनः परीक्षण गर्नुपर्ने माग एक फरेन्सिक विशेषज्ञले गरेका छन् ।
एप्स्टिनको सन् २०१९ अगस्टमा यौन तस्करीसम्बन्धी अभियोगमा मुद्दा चलिरहेका बेला हिरासतमा मृत्यु भएको थियो । न्यूयोर्क सिटी अफिस अफ चिफ मेडिकल एक्जामिनरले उनको मृत्यु आत्महत्या भएको निष्कर्ष निकाले पनि फरेन्सिक प्याथोलोजिस्ट डा. माइकल बाडेन त्यस निष्कर्षप्रति विश्वस्त नभएको बताएका छन् ।
एप्स्टिनको परिवारको तर्फबाट पोस्टमार्टम प्रक्रियामा पर्यवेक्षकका रूपमा उपस्थित भएका डा. बाडेनले “उपलब्ध सूचनाका आधारमा मृत्यु झुन्डिएर भएको भन्दा घाँटी थिचेर भएको सम्भावनासँग बढी मेल खान्छ” भन्ने धारणा सार्वजनिक गरेका छन् । उनले मृत्युको कारण र प्रकृतिबारे थप अनुसन्धान आवश्यक रहेको पनि बताएका छन् ।
यद्यपि, डा. बाडेनले पोस्टमार्टम स्वयं नगरेको स्पष्ट पारिएको छ । उनी परिवारको प्रतिनिधिका रूपमा अवलोकन गर्न उपस्थित थिए । उनले पोस्टमार्टमका बेला आफू र मेडिकल एक्जामिनरबीच मृत्युको ठोस कारण निर्धारण गर्न थप सूचनाको आवश्यकता पर्ने सहमति भएको दाबी गरेका छन् ।
एप्स्टिनको मृत्युयता अमेरिकी न्याय विभागसँग सम्बन्धित लाखौँ कागजात सार्वजनिक भइसकेका छन्, जसले घटनाबारे पुनः चासो र बहस बढाएको छ। मृत्यु भएको रातको निगरानी क्यामेराको फुटेजमा केही सेकेन्डको भाग हराएको रिपोर्ट सार्वजनिक भएपछि घटनाबारे विभिन्न अड्कलबाजीसमेत भएका थिए । त्यस्तै सोही रातको अर्को फुटेजमा सुन्तलारङ्गको वस्तु उनको सेलतर्फ सरेको देखिएको भन्दै केही पर्यवेक्षकले शंका व्यक्त गरे पनि त्यसबारे आधिकारिक पुष्टि भएको छैन ।
न्याय विभागले डिसेम्बरमा सार्वजनिक गरेको पोस्टमार्टम प्रतिवेदनको सम्पादित संस्करणमा “मृत्युको प्रकार” भन्ने शीर्षकअन्तर्गत आत्महत्या वा हत्या दुवै विकल्प खाली राखिएको उल्लेख गरिएको थियो ।
डा. बाडेनका अनुसार अगस्ट ११, २०१९ मा गरिएको परीक्षणपछि उनको व्यावसायिक मूल्यांकन निष्कर्षविहीन थियो । उनले मृत्यु प्रमाणपत्र प्रारम्भमा “थप अनुसन्धान बाँकी” राखिएको दाबी गर्दै पछि त्यसलाई न्यूयोर्ककी तत्कालीन चिफ मेडिकल एक्जामिनर डा. बारबरा स्याम्पसनले आत्महत्या भनेर अन्तिम निर्णय दिएको बताएका छन् ।
डा. स्याम्पसनले भने एप्स्टिनको मृत्यु झुन्डिएर आत्महत्या भएको आफ्नो निष्कर्षमा अडिग रहेको सार्वजनिक रूपमा जनाएकी छन् । उनले डा. बाडेनले उठाएका घाँटी थिचिएको दाबी अस्वीकार गर्दै आफ्नो निष्कर्ष वैज्ञानिक प्रमाणका आधारमा गरिएको बताएकी छन् ।
एप्स्टिनको मृत्युबारे सुरुदेखि नै विभिन्न षड्यन्त्र सिद्धान्त र सार्वजनिक बहस चलिरहेकाले फरेन्सिक मूल्यांकन र आधिकारिक निष्कर्षबीचको मतभेदले पुनः चर्चा चुलिएको छ ।








