२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

हतियारसहित राष्ट्रपति ट्रम्पको निवासमा प्रवेश गर्न खोज्नेको गोली हानी हत्या




अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को फ्लोरिडास्थित निजी निवास ‘मार–आ–लागो’मा सुरक्षा घेरा तोडेर प्रवेश गर्न खोज्ने एक व्यक्तिको सुरक्षाकर्मीको गोली हानी हत्या गरेका छन् ।

शटगन र इन्धनको जर्किन बोकेर भित्र छिर्न खोजेका ती व्यक्तिलाई रोक्ने क्रममा भएको मुठभेडमा उनको ज्यान गएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् ।

अमेरिकी सुरक्षा निकाय सीक्रेट सर्भिसका अनुसार संदिग्ध व्यक्ति मार–आ–लागोको उत्तरतर्फको गेटबाट एउटा सवारी साधन बाहिर निस्कने मौका छोपी परिसरभित्र छिर्न खोजेका थिए । घटनाका बेला राष्ट्रपति ट्रम्प भने आफ्नो साप्ताहिक कार्यतालिका अनुसार वासिङ्टन डीसीस्थित ह्वाइट हाउसमा रहेको जनाइएको छ ।

सीक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले जारी गरेको वक्तव्यमा संदिग्ध व्यक्तिलाई शटगन र इन्धनको क्यान बोकेको अवस्थामा सुरक्षाकर्मीले फेला पारेको उल्लेख छ। उनलाई नियन्त्रणमा लिन खोज्दा भएको प्रतिकारका क्रममा गोली चलेको र घटनास्थलमै उनको मृत्यु भएको जानकारी दिइएको छ। घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते नभएको बताइएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  १० : ४६ बजे