काठमाडौँ जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले अनुसन्धानसम्बन्धी थप कार्यहरू अझै बाँकी रहेकाले हिरासतमा राख्नु मनासिव देखिएको ठहर गर्दै म्याद थप गरेको हो। शनिबारदेखि लागू हुने गरी तेस्रो पटक पाँच दिनको म्याद थपिएको हो।
यसअघि पहिलो पटक पाँच दिन र दोस्रो पटक दुई दिनको म्याद दिइएको थियो। दोस्रो पटक म्याद थप गर्दा अदालतले स्वास्थ्य उपचारमा असर नपर्ने गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो। दुवैको बयान प्रक्रिया भने सम्पन्न भइसकेको छ। तर यसपटकको आदेशमा स्वास्थ्यसम्बन्धी विषय उल्लेख गरिएको छैन।
पक्राउ परेपछि ओली त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् भने लेखकलाई प्रहरीको २ नं गणमा राखिएको छ। ‘जेनजी आन्दोलन’मा दमन गर्न आदेश दिएको आरोपमा जाँचबुझ आयोगले उनीहरूमाथि कारबाही सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा सरकारले प्रहरीलाई कारबाही अघि बढाउन निर्देशन दिएको थियो।
बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएकै दिन यस्तो निर्णय भएपछि भोलिपल्ट बिहानै दुवै जनालाई निवासबाट पक्राउ गरिएको थियो।
सरकारले अन्य व्यक्तिको हकमा भने तत्काल कारबाही अघि नबढाउने निर्णय गरेको छ। यसअघि पक्राउ परेका काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि सोही दिन रिहा गरिएको छ।









