२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

सामान्य विवादमा दुई भाइको छुरा प्रहारबाट मृत्यु



ललितपुरको मंगलबजार क्षेत्रमा बुधबार साँझ सामान्य टेलिफोन विवादले उग्र रूप लिँदा दुई दाजुभाइको ज्यान गएको छ। नेपाल प्रहरीका अनुसार झापा कमल गाउँपालिका–६ घर भई ललितपुरको इमाडोल बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्बाङको छुरा प्रहारबाट मृत्यु भएको हो।

बुधबार साँझ करिब सात बजे सुमितका बुवा देवकुमार नेम्बाङले छोराहरूलाई फोन गरेर खाना पकाउन घर फर्किन आग्रह गरेका थिए। दुवै जना आधा घण्टाभित्र आइपुग्ने बताएका थिए। तर केहीबेरमै उनीहरू घाइते अवस्थामा अस्पताल पुर्‍याइएको खबर आयो। हतारिँदै बीएण्डबी हस्पिटल पुगेका देवकुमारले दुवै छोरालाई मृत अवस्थामा भेटेपछि परिवार शोकमा डुबेको छ ।

प्रहरीका अनुसार घटना एक साधारण फोन कलबाट सुरु भएको थियो। सुमितले आफ्ना साथीलाई फोन गर्ने क्रममा नम्बर गलत डायल भई ललितपुर महानगरपालिका–९ भोलढोकाका ३२ वर्षीय सञ्जीव नेपालीसँग सम्पर्क भएको थियो। अपरिचितबीचको कुराकानी विवादमा परिणत भयो। फोन काटिएपछि पनि सञ्जीवले पटक–पटक फोन गरेर गालीगलौज गर्दै भेट्न चुनौती दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

त्यसपछि साँझ करिब साढे ७ बजे मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि दुई समूहबीच भेट भयो। सुमित र सञ्जीवबीच भनाभन हुँदै हातपात सुरु भयो। सोही क्रममा सञ्जीवले साथमा रहेको छुरा निकालेर सुमितको घाँटीमा प्रहार गरे। गम्भीर घाइते भई सुमित ढलेपछि उनलाई बचाउन अघि बढेका भाइ सिर्जनमाथि पनि सञ्जीवले पेट र घाँटीमा छुरा प्रहार गरेका थिए।

घटना अत्यन्तै छोटो समयमा भएको प्रहरीले जनाएको छ। घाइते दुवैलाई तत्कालै प्रहरी टोलीले उद्धार गरी अस्पताल पुर्‍याए पनि चिकित्सकले करिब ८ः१५ बजे मृत घोषणा गरेका थिए।

घटनापछि फरार हुन खोजिरहेका सञ्जीवलाई नजिकैबाट एक महिला प्रहरी जवानले नियन्त्रणमा लिएकी थिइन्। पछि थप प्रहरी टोली पुगेर उनलाई घटनामा प्रयोग भएको छुरासहित पक्राउ गरिएको हो। उनका साथमा रहेका गगन सुनारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। सञ्जीव मासु पसलमा काम गर्ने व्यक्ति रहेको र उनले प्रयोग गरेको छुरा पनि सोही कामसँग सम्बन्धित भएको खुलेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटीका अनुसार घटनामा हालसम्म यी दुई बाहेक अन्यको संलग्नता नदेखिएको र थप अनुसन्धान जारी रहेको छ। घटनाबारे कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

मृतक दाजुभाइको शव हाल अस्पतालमै राखिएको छ। पोस्टमार्टमका लागि बेलायतमा रहेकी आमाको प्रतीक्षा भइरहेको परिवारले जनाएको छ। दुवै जना वैदेशिक यात्राको तयारीमा रहेको अवस्थामा यस्तो दुखद घटना घटेपछि नेम्बाङ परिवार शोकमा डुबेको छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ९ : ४३ बजे