अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वासिङ्टनस्थित ह्वाइट हाउसमा उच्चस्तरीय वार्ता सुरु भएको छ । राष्ट्रपति सीको स्वागत गर्दै ट्रम्पले दुई देशबीचको यो छलफलले आगामी दशकौँको शान्ति र समृद्धिलाई निर्देशित गर्ने विश्वास व्यक्त गरेका छन् ।
सीलाई अमेरिकामा स्वागत गर्दै ट्रम्पले भने, “राष्ट्रपति सी अमेरिकाको दोस्रो राजकीय भ्रमण गर्ने पहिलो चिनियाँ नेता बन्नुभएको छ। यहाँहरूलाई वासिङ्टनमा आतिथ्य प्रदान गर्न पाउँदा मेलानिया र मलाई सम्मानको अनुभूति भएको छ।”
उनले भ्रमणका क्रममा सुरक्षा, प्रविधि र सुपर इन्टेलिजेन्स (आर्टिफिसियल इन्टेलिजेन्स/एआई) जस्ता महत्त्वपूर्ण विषयमा छलफल हुने जानकारी दिए। एआईलाई ‘सुपर इन्टेलिजेन्स’को संज्ञा दिँदै ट्रम्पले आज गरिने निर्णयले आगामी दशकौँसम्म विश्व शान्ति र समृद्धि प्रवर्द्धन गर्ने बताए। दोस्रो विश्वयुद्धदेखि नै दुई देशबीच मित्रवत् सम्बन्ध रहेको उल्लेख गर्दै ट्रम्पले द्विपक्षीय व्यापारलाई पहिलेभन्दा बढी सन्तुलित बनाउने काम भइरहेको समेत दाबी गरे ।
वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले मित्रता र सहकार्यलाई नयाँ उचाइमा पुर्याउन आफू अमेरिका आएको स्पष्ट पारे । “राष्ट्रपति ट्रम्पको निमन्त्रणामा हाम्रो मित्रतालाई निरन्तरता दिन, सहकार्य विस्तार गर्न र दुवै देशका जनताको हितका लागि यो भ्रमण गरेको हुँ,” सीले भने, “आज विश्व र इतिहासमा ठूला परिवर्तनहरू भइरहेका छन्। यस्तो अवस्थामा चीन र अमेरिका दुवैले मानव विकास र प्रगतिलाई अघि बढाउने ऐतिहासिक जिम्मेवारी वहन गरिरहेका छन्।” उनले दुई देशबीचको सम्बन्धलाई विशाल जहाजको संज्ञा दिँदै ट्रम्पसँग मिलेर यसलाई स्थिर गतिमा भविष्यतर्फ अघि बढाउन तयार रहेको बताए। साथै, उनले चिनियाँ कम्पनीहरूलाई अमेरिकामा निष्पक्ष व्यवहार गरिने आशा व्यक्त गरे।
विशेष गरी एआईको विषयमा बोल्दै राष्ट्रपति सीले चीन र अमेरिका यस क्षेत्रमा अग्रणी राष्ट्र भएकाले यसको सुरक्षित व्यवस्थापन र विकास गर्ने जिम्मेवारी पनि दुवै देशकै हातमा रहेको उल्लेख गरे। एआईको विकास सधैँ मानिसको नियन्त्रणमा रहने र जनताको हितमा प्रयोग हुने कुरा सुनिश्चित गरिनुपर्नेमा उनले जोड दिए।
आफ्नो सम्बोधनका क्रममा राष्ट्रपति सीले सद्भाव अभिवृद्धिका लागि आगामी पाँच वर्षमा एक लाख अमेरिकी युवालाई चीन भ्रमणको निमन्त्रणा दिने र अमेरिकी चिडियाखानालाई दुई वटा पाण्डा उपहारस्वरूप उपलब्ध गराउने घोषणासमेत गरे।









