विघटित प्रतिनिधि सभा पुन:स्थापनाको मुख्य एजेन्डा बनाएको नेकपा एमाले पछि अब नेपाली कांग्रेसका पूर्वसांसदहरूको हस्ताक्षर संकलन सुरु गरेका छन् । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेको कांग्रेसले अझै पनि पुनस्थापनाको लागि पहल गर्ने निर्णय भने गरेको छैन ।
निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले हस्ताक्षर संकलन सुरु गरिएको पुष्टि गरे । उनका अनुसार, ‘कानुनी कामकारबाहीका लागि विघटित प्रतिनिधि सभाका हाम्रा सदस्यहरूको हस्ताक्षर संकलन गरिरहेका छौँ। कानुनी कामकारबाहीका लागि हस्ताक्षर गरिएको हो ।’
संकलित हस्ताक्षर पार्टी केन्द्रीय समितिमा बुझाइने र त्यसपछि पार्टीले थप कानुनी कदमबारे निर्णय गर्ने तयारी छ ।
प्रतिनिधि सभा पुन:स्थापनालाई प्रमुख एजेन्डा बनाएको नेकपा एमालेले यसअघि नै विघटित संसद्का आफ्ना सदस्यहरूको हस्ताक्षर संकलन गरिसकेको छ । एमालेको कदमपछि प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसले पनि हस्ताक्षर अभियान सुरु गरेपछि दुई ठूला दलहरू कानुनी लडाइँको लागि एकै बाटोमा जाने संभावना देखिएका छन्।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले तत्कालीन केपी ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।
सोही दिन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन तोकेको छ ।









