१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

विभिन्न देशमा नेपाल फर्कन चाहनेको विवरण संकलन जारी



काठमाडौं । विभिन्न देशका नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीहरुलाई आफ्नो विवरण संकलन गरिरहेको छ ।

सरकारको जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७’ जारी भएको सन्दर्भमा नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीका लागि यस्तो व्यवस्था गरिएको राजदूतावासहरुले विवरण संकलन सुरु गरेको हो । सरकारले तत्काल २५ हजारलाई फर्काउने योजना बनाएको छ ।

यूकेको लण्डन, अमेरिकाको वासिंगटन डीसी, यूरोप, मलेसिया, खाडी मुलुकलगायतका राजदूतावासहरुले सूचना जारी गरेर विववरण अध्यावधिक गर्न भनेको हो ।

कोभिड–१९ महामारीको परिणामस्वरुप बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र छिट्टै नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका नेपालीहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्कने व्यवस्था सरकारले गर्न लागेको छ । तर त्यसको खर्च भने ब्यक्ति आफैले व्योहोर्नु पर्ने हुन्छ ।

नेपाल फर्कन चाहनेले आफ्नो नाम, राहदानी नम्बर, स्थायी ठेगाना, नेपाल फर्केपछि बस्ने ठेगाना, नेपालको सम्पर्क नम्बर, नेपाल फर्कनुपर्ने कारण, हाल आफू रहेको ठेगाना, सम्पर्क नम्बर र इमेल साथै आफ्नै खर्चमा तोकिएको होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिन कुनमा बस्ने हो सोसमेत खुलाउनु पर्ने हुन्छ ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  २ : ०३ बजे