५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

ग्याल्पो लोसारमा सांस्कृतिक साँझ: टुँडिखेलमा भनिएको कार्यक्रम सारियो पार्टी प्यालेसमा


२ फाल्गुन २०७४, बुधबार  

0
Shares

काठमाडौं: शेर्पाहरुको महान पर्व ग्याल्पो लोसार आजबाट सुरु भएको छ। देश विदेशमा उल्लसमय ढंगले लोसार सुरु भएको नेपाल शेर्पा संघका अध्यक्ष एडी शेर्पा लामाले जानकारी दिए।

यसै अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले लोसार गुथुक साँझ आयोजना गरेको छ।

कार्यक्रम आज साँझ काठमाडौंको कुमारीगलस्थित ज्योति पार्टी प्यालेसमा हुने ‘स फो खि ल्हो २१४५ औं ग्याल्पो ल्होसार’ आयोजक समितिकी संयोजक आङडोमा शेर्पाले जानकारी दिइन्।

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको उनले बताइन्। केन्द्रकी वरिष्ठ उपाध्यक्षसमेत रहेकी शेर्पाले शेर्पाहरुको घरघरमा लोसार सुरु भइसकेको उल्लेख गरिन्।

आज सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले सांस्कृतिक साँझको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

 

टुँडिखेलमा हुने भनिएको कार्यक्रम किन सारियो पार्टी प्यालेसमा?

 

३ दिने लोसार गुथुक साँझ कार्यक्रम टुँडिखेलमा तय भइसकेको थियो। अन्तिम अवस्थामा आएर कार्यक्रम ज्योति पार्टी प्यालेसमा गर्नुपरेको संयोजक शेर्पाले जानकारी दिइन्।

शेर्पाले भनिन्, ‘हामीले यसपटक तामाङ बौद्ध महासंघसँगै मिलेर कार्यक्रम आयोजना गर्न लागेका थियौं। आयोजकबीचको कोअर्डिनेसन नमिलेर हामी पार्टी प्यालेसमा आउन बाध्य भयौ।’

दुइ दिने साँस्कृतिक साँझ टुँडिखेलमै गर्ने सम्पूर्ण तयारी भइसकेको अवस्थामा बौद्ध महासंघको कारण कार्यक्रम स्थल नै सार्नुपरेको उनले बताइन्।

केन्द्रले भाषा, कला, संस्कृतिको संरक्षण एव संबर्द्धनका लागि हरेक वर्ष गुथुक साँझ गर्दै आएको छ। फागुन ४ मा शुभकामना साटासाट भने टुँडिखेलमै हुने संयोजक शेर्पाले जानकारी दिइन्।

 

साम्देको सम्झना: राष्ट्रिय पुरस्कार सन्तोष पन्तलाई

यसपटक पनि हास्य कलाकार स्व साम्दे शेर्पाको सम्मानमा स्थापित पुरस्कार वितरण गरिने भएको छ ।

पाँच वर्षअघि स्थापना भएको यस पुरस्कार गतवर्षबाट विभिन्न तीन विधामा प्रदान गर्न थालिएको छ।

यसवर्ष साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार हास्यकलाकार सन्तोष पन्तलाई प्रदान गरिने भएको छ। ३१ हजार राशिसहितको पुरस्कार यसअघि मह जोडी, मनोज गजुरेल,  पासाङ टि शेर्पा र बसुन्धरा भुसाललाई प्रदान गरिएको थियो।

यस्तै साम्दे शेर्पा राष्ट्रिय नव प्रतिभा पुरस्कारबाट जितु नेपाललाई सम्मान गर्ने भएको छ। नगद १० हजार १११ राशिसहितको यो पुरस्कार गत वर्ष दीपकराज गिरीलाई प्रदान गरिएको थियो।

शेर्पा प्रतिभाबाट नगद १० हजार १११ सहितको पुरस्कारबाट गायक मिङमा शेर्पा पुरस्कृत हुने भएका छन्। यसअघि गायक ल्हाक्पा शेर्पा यस पुरस्कारबाट सम्मानित भएका थिए।

साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता

यसैगरी साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता पनि आयोजना हुने भएको छ। यसपटकको प्रतियोगितामा १९ जना सहभागी हुँदैछन्। प्रथमलाई २० हजार दोस्रोलाई १५ हजार तेस्रो लाई १० हजार र एकजना सान्त्वनालाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। पुरस्कार भोटेकोशी हाइड्रोले प्रायोजन गरेको हो।

 

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार  १ : ३० बजे