नेपाल टेलिभिजनमा प्रत्येक सोमबार राति ९ बजे आउने हास्य टेलि श्रृंखला ‘ब्रेक फेल’ का ससुरा भाइ ‘अनुहार नपर्या’ थेगोबाट चर्चामा छन् । जिरे खुर्सानीमा गोविन्दे हवाल्दारको भूमिकामा देखिएका यी कलाकारको वास्तविक नाम थाह पाउन पनि मुस्किलै रहेछ । सुटिङ युनिटमा ‘मुस्कान अंकल’ का नाममा चिनिने उनको असली नाम चाहिँ धनराम केसी मुस्कान रहेछ ।
२०४७ सालबाट कला यात्रा थालेका उनी फिचर फिल्मदेखि सानो पर्दाका फिल्मसम्म देखिएका छन् । अशोक शर्मा निर्मित गरिब फिल्मबाट अभिनय थालेका उनले ललितपुरको इमाडोलमा स्कुलमा छँदै नाटकमा अभिनय थालेका थिए । अहिलेसम्म उनले १६ फिल्ममा अभिनय गरिसकेका छन् भने इमेज टेलिभिजनमा प्रसारण हुने आममै, नेपाल वानबाट आउने खोतलखातल, जिरे खुर्सानी, तितोसत्यमासमेत अभिनय गरिसकेका छन् ।
अभिनयमा व्यस्त यी कलाकारको अर्को प्रतिभा भनेको गायन पनि हो । उनले अहिलेसम्म पाँच वटा एल्बम बजारमा ल्याइसकेका छन् । अहिले छैटौं एल्बमको तयारीमा छन् । काठे लोकदोहोरीलाई बचाउन लागिपरेका उनी ललितपुर राष्ट्रिय संगीतकर्मी संघका अध्यक्षसमेत हुन् । उनी चर्चित कलाकार धनराम मुस्कानसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः
तपाई ‘अनुहार नपर्या’ भनेर बुरुकबुरुक उफ्रनुहुन्छ, यसैलाई दर्शकले रुचाउन थालेका छन्, कस्तो लाग्दो रहेछ यसरी मनपराउँदा ?
ब्रेक फेल सुरु हुदाँ मलाई किरण केसी राता मकैले केही नयाँ गरौं भन्नुभयो । मलाई पनि केही नयाँ गरु लागिरहेको थियो । त्यसैले यही अनुहार नपर्या भन्ने थेगो प्रयोग गरें । यो थेगोकै कारण अहिले मलाई देशविदेशबाट दर्शकहरुले मनपराउनु भएको छ । कतिले फेसबुक मेसेन्जरबाटै कल गरेर एकपटक अनुहार नपर्या भन्दिनुपर्यो भनी अनुरोध गर्नुहुन्छ । झिसार मान्दिनँ । मैले अनुहार नपर्या मात्र भन्दिदाँ पनि एकदम खुसी हुन्छन् । एउटा कलाकारले चाहने भनेको दर्शकको माया हो । जुन मैले पाएको छु । त्यसैले खुसीको सीमै छैन ।
यस्तो थेगो बनाउने जुक्ति कसरी फुर्यो त ?
थेगोले मात्र त काम गर्दैन । कथावस्तु पनि राम्रो हुनुपर्छ । यसमा किरण केसीको ठुलो देन छ । उहाँकै सहयोगमा यो थेगोले जीवन्त हुने मौका पायो । वास्तावमा यो थेगो १० वर्षअगाडि नै गंगाजल मा सुशील क्षेत्रीलाई हानेको डायलग थियो । त्यतिबेला पनि चर्चामा आएको थियो । तर अहिले जति चाहि हैन ।
अघिल्ला फिल्म, टेलिफिल्म र ब्रेकफेलले दिलाएको चर्चामा के फरक पाउनुभएको छ ?
हरेक फिल्म र टेलिफिल्ममा फरकफरक अभिनय हुन्छ । पात्र फरक हुन्छ । कथाअनुसार आफूले दुःख गरेकै हुन्छ । तर, ती अभिनयहरुमा भन्दा ब्रेक फेलको पात्रबाट दर्शकमा अलि बढी नै नोटिस भएको मलाई पनि लाग्दैछ । यो सबै ब्रेक फेल टिमको मेहेनतको फल हो । मलाई अहिले स्टेजसम्म पुर्याइरहेको छ ससुराभाईले । अमेरिकासम्म पनि आउने निम्तो आउन थालेको छ । जता पुगे पनि दर्शकको माया विना कलाकार बाँच्न सकिदैन ।
तपाई सानैबाट अभिनय क्षेत्रमै आउनुभएको रहेछ, अहिलेसम्म पनि मुख्य भुमिकामा आउन नपाउँदा दुःख लाग्छ कि ?
मलाई त्यस्तो लाग्दैन । किनभने म स्कुले जीवनबाटै नाटक क्षेत्रबाट अभिनय थालेको रहेछु । बुवा उपप्रधानपञ्च हुनुहुन्थ्यो । ललितपुरको इमाडोलमा जन्मे हुर्केकोले खासै यही बन्छु भनेर पनि सपना बोकिनँ । सानैदेखि रसरंग, रमाइलैमै लागे । गीत गाउने, अभिनय गर्ने यस्तै यस्तै । अभिनय गर्दा पनि हास्य क्षेत्रमै आइपुगें । मुख्य भूमिका नै निभाउनुपर्छ भन्ने केही छैन । दर्शकले मन पराउनुभएको छ । यतिमै मलाई सन्तुष्टि छ ।
तपाईं गायन क्षेत्रमा पनि उतिकै सक्रिया हुनुहुन्छ, कस्तो गीतलाई प्राथमिकता दिनुहुन्छ ?
म आफू काठे क्षेत्रको भएकोले काठे गीत गाउँछु । अहिलेसम्म पाँच वटा एल्बम आइसक्यो । अब छैटौं एल्बमको तयारीमा छु । लगत्तै यही सालमा सातौं एल्बममा ल्याउने तयारीमा छु । काठे गीतलाई श्रोतासम्म पुर्याउन लागि पर्छु ।
कलाकारिता, गायन अनि ब्रेक फेलमा तपाईको अभिनयको कथा, यी कथाजस्तै पारिवारमा झमेला सामना गर्नुपर्छ कि पर्दैन ?
अहिलेसम्म त त्यस्तो छैन । एल्बम निकाल्न श्रीमतीकै सहयोग छ । मेरी श्रीमती गमला केसी ब्युटिसियन पनि हुन् । उनी मलाई हरेक काममा साथ दिन्छिन् । छोरा पनि यही क्षेत्रमा आउने प्रयासमा छन् । त्यसेले रिलको कुरा रियल लाइफमा मिलेको छैन भन्ने त यहीबाट प्रष्ट देखियो नि । म कहिले गायक बनेर कहिले कमेडियन बनेर स्टेज पुगिरहेको हुन्छु । यही क्षेत्रबाट कमाई राम्रो भइरहेको छ ।