२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

पत्रकारितामा आचारसंहिता उल्लंघनका घटना बढ्दो, पत्रकारलाई धम्कीका घटना उस्तै


३ श्रावण २०७५, बिहिबार  

0
Shares

एभरेस्ट टाइम्स/काठमाडौं

नेपाली पत्रकारिता क्षेत्रमा पछिल्लोपटक आचारसंहिता उल्लंघनका घटना बढेको प्रेस काउन्सिल नेपालले जनाएको छ । मिडियाको संख्या बढेसँगै आचारसंहिता उल्लंघनको घटना बढेको हुनसक्ने बताइएको छ ।

पछिल्लोपटक एक वर्षको अवधिमा जेठ मसान्तसम्म १६५ आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी परेको छ । यसरी उल्लंघन गर्नेमा सबैभन्दा अगाडि अनलाईन मिडिया रहेको प्रेस काउन्सिलका सूचना अधिकारी सहप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए ।

‘पछिल्लोपटक आचारसंहिता उल्लंघनका घटनामा अनलाइन मिडिया अगाडि देखिएका छन्, त्यसपछि पत्रपत्रिका अनि टेलिभिजन र रेडियो रहेका छन्,’ खनालले एभरेस्ट टाइम्ससँग भने । व्यक्तिका चरित्र हत्यासम्बन्धी समाचारहरुमा यस्ता उजुरी सबैभन्दा बढी परेको उनले बताए ।
पछिल्लोपटक पाठकहरु आफै जागरुक भएको र वेबसाइटबाटै उजुरी दिन मिल्ने व्यवस्था भएकाले पनि यस्ता उजुरी बढेको काउन्सिलको दाबी रहेको छ । खनालले भने, ‘अहिले काउन्सिल आफैले मनोटरिङ पनि गरिरहेको छ, यस्तै अनलाइनबाटै सोझै उजुरी गर्न सक्ने सुविधा माघबाट मिलाएका छौ, यसले पनि उजुरी बढेको हाम्रो विश्वास छ,’ सूचना अधिकारी खनालले भने, ‘यो काउन्सिलले पछिल्लोपटक अपनाएको आचारसंहितासम्बन्धी जागरुकताका कारण भएको हो ।’

परेका उजुरीमा छानविन, मेलमिलाप र अदालतसम्म जानका लागि प्रेस काउन्सिलले सहयोग गर्ने गरेको उनले बताए । काउन्सिललाई नर्टेने मिडियालाई प्रेस पास रोक्नेदेखि राज्यबाट पाउने सुविधा खारेजका लागि सिफारिस गर्ने काउन्सिलले जनाएको छ ।

यता मिडियाले आचारसंहिता उल्लंघनका घटना बढाइरहेको बेला मिडियाकर्मीलाई धम्की त्रासका घटना पनि बढिरहेका छन् । यो वर्षको शुरुवातमै १६ यस्ता घटना भइसकेका छन् ।

पत्रकार महासंघका अनुसार गत वैशाख ७ मा काठमाडौंमै कब्जा गर्ने अवरोध गर्ने कार्य भएको उल्लेख गरिएको छ । त्यसैगरी वैशाख १९ मा सुनसरीमा पत्रकारमाथि आक्रमण भएको, वैशाख १९ मा रिपोर्टिङकै क्रममा काठमाडौंमा अवरोध भएको वैशाख ३० मा कैलालीमा धम्की दिएको, वैशाखमै मुगुमा गालीगलौच गरेको घटना उल्लेख गरिएको छ ।

जेठमामात्र यस्ता किसिमका सातवटा घटना भएका छन् । दुव्र्यवहार, आक्रमणदेखि पक्राउसम्मका घटना यही महिना भएका छन् । यस्ता घटना सबैभन्दा धेरै काठमाडौंमै भएका छन् । असारमा यस्ता घटना तीनवटा भएको महासंघले जनाएको छ । अघिल्लो वर्ष यस्ता घटना ६० भन्दा बढी भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहिबार  ८ : ०६ बजे