२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री ओली सिंगापुरबाट स्वदेश फिर्ता


२७ श्रावण २०७६, सोमबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार पछि स्वदेश फर्किएका छन् । १० दिन सिंगापुरमा स्वास्थ्य परीक्षण र आराम गरी फर्किएका ओलीले आफ्नो स्वास्थ्य सामान्य रहेको जानकारी दिएका छन् ।

ओलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरेनन् । स्वदेश फिर्तापछि ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै स्वास्थ्य सामान्य रहेको जानकारी गराए ।

‘सिंगापुरमा स्वास्थ्य परिक्षण गरी आज फर्किएको छु । मेरो स्वास्थ्य सामान्य रहेको छ । परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु,’ उनले ट्विटरमा लेखेका छन्, ‘मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्य लाभको कामना गर्नु हुने सबै दिदीबहिनी-दाजुभाईहरूलाई धन्यवाद दिन चाहन्छु ।’

साउन १८ गते उपचारका लागि सिंगापुर गएका उनलाई स्वागत गर्न विमानस्थलमा सभामुख कृष्णबहादुर महरा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णु पौडेललगायतका नेताहरु पुगेका थिए।

ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको थियो । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओली निरन्तर यसको फलोअपका लागि दिल्ली, बैंकक र सिंगापुर जाँदै आएका छन् । प्रधानमन्त्रीका साथमा पत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ८ : ५८ बजे