टासी लाक्पा शेर्पा सोमबारदेखि सगरमाथा आरोहरणमा, ५ दिनमै चुचुरो चुम्‍ने लक्ष्य

२०७६ फाल्गुन १२, सोमबार ०५:५०

काठमाडौँ । असमान्य सिजनमा ‘बिना अक्सिजन ५ दिनमै सगरमाथा आरोहण गरेर नयाँ र्कीतिमान कायम गर्ने उद्देश्यले’ नेपाली आरोही टासी लाक्पा शेर्पा सोमबार सगरमाथातर्फ जाँदै छन् ।

पर्यटन विभागले उनलाई आइतबार साँझ आरोहण अनुमति प्रदान गरेको निर्देशक मिरा आचार्यले बताइन् । आरोही टासी लाक्पाका अनुसार सगरमाथा चुचुरोमा मानव पाइला पुगेको ६७ वर्षयता दुईपटकमात्रै हिउँदयाममा सफल आरोहण भएको छ । ‘१९८० मा जापानी आरोहीहरु र १९९३ मा पोलिस आरोहीहरुले कम्तीमा दुई महिना लगाएर हिउँदयाममा सगरमाथा आरोहण गरेको रेकर्ड फेला पर्‍यो,’ संखुवासभाको मकालु मुलघर भएका ३४ वर्षीय टासीले भने,‘यी दुई आरोहण बाहेक हिउँदयाममा कुनै पनि प्रयास सफल भएको रेकर्ड देखिएको छैन ।’

आरोही शेर्पाले आफू यसपटकको हिउँदयामको आरोहणमा पहिलो नेपाली, विना अक्सिजन ५ दिनमा सक्नेगरी तीन विधाको रेकर्ड बनाउने लक्ष्य राखेर सगरमाथा आरोहणमा जान लागेको बताए । यसबारे गिनिजको टोलीलाई पनि जानकारी गराइसकिएको छ । टासीले विभागलाई बुझाएको कार्यतालिका अनुसार उनी सोमबार काठमाडौंबाट लुक्ला हुँदै हेलिकप्टरमा ५३ सय ८० मिटर उचाईमा रहेको सगरमाथा आधार शिविर पुग्ने छन् । मंगलबार आधार शिविरबाट ६४ सय मिटर उचाईमा रहेको दोस्रो शिविर, बुधबार ७९५० मिटर उचाईमा पर्ने चौथौ शिविर बिहीबारका दिन उनले ८८४८ मिटर उचाइको चुचुरोमा पाइला राख्ने छन् । उनी बुधबारै दोस्रो शिविरमा झर्ने छन र पाँचौ दिन हेलिकप्टरबाट काठमाडौं फर्किने छन् ।

टासी लाक्पा वसन्तकालीन हिमाल आरोहण सिजनमा बिना अक्सिजन आरोहण गर्ने पहिलो नेपाली कान्छो आरोही पनि हुन् । उनले ०६२ सालमा १९ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर गिनिज वर्ल्ड रेर्कड्समा नाम लेखाएका थिए ।

हाल काठमाडौंमा पर्वतरोहण सम्बन्धिको ‘फोट्टिन पिक एक्सपीडीसन प्रालि’ कम्पनी सञ्चालन गर्दै आएका टासी लाक्पाले ८ पटक सगरमाथा आरोहण सकिसकेका छन् । अरोही टासी लाक्पासँग सहयोगीका रुपमा पासाङ नोर्बु शेर्पा, हलुङ दोर्जी शेर्पा र मिङतेम्बा शेर्पा गाइडका रुपका जाँदैछन् । यो आरोहण दलको नेता भने टासी लाक्पा नै छन् । यस आरोहण दलको सर्म्पक अधिकृतका रुपमा विभागले भूमी व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रायलका उपसचिव दीपक खड्कालाई तोकेको छ ।

सम्बन्धित समाचार