मनाङको हुम्दे र सोलुखुम्बुको थामेमा आइसक्लाइमिङ फेस्टिवल हुने

२०७७ माघ ५, सोमबार १८:३४

 

काठमाडौं । यस वर्षदेखि मनाङको हुम्देको साथै सोलुखुम्बुको थामेमा पनि आइस क्लाइम्बिङ फेस्टिवल हुने भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को मुख्य आयोजनामा नेपाल क्लाइम्बिङ टिमले मनाङको हुम्देमा विगत तीन वर्षदेखि आइसक्लामिङ फेस्टिवल आयोजना गर्दै आएको छ । थामेमा भने यम्बु ठमीछो किदुगले पहिलो पटक आयोजना गर्न लागेको हो ।

एनएमएको कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार थामेमा यही जनवरी २२ देखि २९ सम्म आइस तथा रक क्लाइम्बिङ फेस्टिभल हुने छ भने हुन्देमा फेब्रुअरी १ देखि १० तरिखसम्म हुनेछ । आयोजकहरुले आन्तरिक तथा बाह्य सहासिक पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्यका साथ फेस्टिभल आयोजना गर्न लागेको बताएका छन् ।

थामे विश्व प्रसिद्ध आरोहीहरु एडमण्ड हिलारीसँगै सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण गर्ने तेञ्जिङ नोर्गे शेर्पा, दश पटक सगरमाथा विना अक्सिजन चढ्ने आङरिता शर्पा, सबैभन्दा धेरै पटक २४ पटक सगरमाथा चढ्ने कामी रिता शेर्पालगायतका किर्तीमानी आरोहीहरुको जन्मस्थल हो ।

किदुगका अध्यक्ष निङमा शेर्पाले यस्ता प्रख्यात आरोहीहरुको जन्मस्थलमा रहेका ठाउँको रक र आइस स्पटको विश्वभर प्रबर्द्धन गरेर पर्यटकलाई आकर्षत गर्नका लागि ‘थामे भ्याली आइस एण्ड रक फेस्टिवल’ सञ्चालन गर्न लागेको बताए । पत्रकार सम्मेलनमा उपस्थित किर्तीमानी आरोही कामी रिता शेर्पाले आफु जन्मेको गाउँ ठाउँको प्रचार गरेर घरेलु तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि फेस्टिवल आयोजना गर्न लागेकोमा खुशी लागेको बताए ।

मनाङको हुन्देमा भने यो तेस्रो पटक फेस्टिवल हुन लागेको उल्लेख गर्दै एनएमएका अध्यक्ष सन्तबीर लामाले नेपालको पर्वतीय पर्यटनमा एउटा उपजको रुपमा यसलाई विकास गर्नुपर्ने बताए । यसका लागि एनएमए र आइस क्लाइम्विङ टिमका साथै स्थानीय तहको पनि सहयोग रहेको बताइएको छ । ‘आइसक्लाइमिङलाई एउटा पर्वतीय खेलको रुपमा विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको हो’ पत्रकार सम्मेलनमा वितरित बिज्ञप्तिमा भनिएको छ ।

हुन्देमा फेब्रुअरी १ देखि दश दिनसम्म आइसक्लाइमिङ, आइसक्लाइमिङ तालिम, यस सम्बन्धी डकुमेन्ट्रीहरुको प्रदर्शन, हुन्दे भ्यालीको भ्रमण, मुभी नाइट हुनेछ । फेस्टिवलमा भाग लिने मध्ये उत्कृष्टलाई गिफ्ट हेम्पर, व्यावसायिक फोटोग्राफरबाट फोटो सुट तथा चेतनामूलक कार्यक्रम पनि हुने बताइएको छ । गत वर्ष यस फेस्टिवलमा ४० जनाले सहभागिता जनाएको थियो ।

पत्रकार सम्मेलनमा मनाङबाट गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङले कार्यक्रमलाई सफल बनाउन आफ्नोतर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित समाचार