मनाइयो २५६५ औँ बुद्ध जयन्ती

२०७८ जेष्ठ १२, बुधबार १९:५५

काठमाडौँ । कोरोना कहरबा बीच शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६५ औँ जन्म जयन्ती श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्‍याएको योगदानको स्मरणमा उनीप्रति आराधना, ध्यान गरी मनाइन्छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उनले जन्म लिएका थिए ।

राजकुमारका रुपमा प्राप्त हुने सुखसयल छोडी दुःख निवारणको कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्केका थिए । तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उनले विश्व शान्ति स्थापनाका लागि सहयोग पुर्‍याए ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि भने स्वास्थ्य सावधानी अपनाएर पूरा गरेका छन् । आम नागरिकले भने बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाएका छन् ।

लुम्बिनी, स्वयम्भू, बौद्धलगायतका स्थालहरु पनि पुजाआज गरिएका छन् । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६५ वर्षअघि माता मायादेवी कपिलवस्तुको तिलौराकोटबाट रुपन्देहीको देवदह जाने क्रममा लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

 

सम्बन्धित समाचार