आदिवासी जनजाति दुरा युवा र महिलालाई जलवायु परिवर्तनसम्बन्धी तीन दिने तालिम

२०७८ श्रावण १८, सोमबार १४:०४

लमजुङ । दुरा समुदायका युवा तथा महिलाहरुलाई आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड) ले आयोजना गरेको तीन दिने जलवायु परिवर्तन तथा अधिकारमुखी तालिम शुक्रवार सम्पन्न भएको छ । जलवायु परिवर्तन, आदिवासी जनजातिको दीगो स्वनिर्धारित विकास तथा नीतिगत पैरवी सम्बन्धी उक्त तालिम दुरा सेवा समाजको संयोजनमा आयोजना गरिएको हो ।

तालिमको उद्घाटन सत्रमा सुन्दरबजार नगरपालिकाका प्रमुख जनक राज मिश्रले दुरा समुदायका युवा तथा महिलाहरुलाई लक्षित गरेर तालिमको आयोजना हुन लागेकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले भने, ‘दुरा समुदाय आफ्नै छुट्टै पहिचान भएको संस्कृतिले धनी समुदाय हो, उहाँहरु बसोबस गर्ने दुराडाडा क्षेत्रका उहाँहरुले आफैले प्राकृतिक स्रोत साधनको व्यवस्थापन गरिरहनु भएको छ ।’

मिश्रले हालै मात्र नगर कार्यपालिकाले पारित गरेको वन सम्बन्धी कानुनले स्रोतमाथिको दुरा समुदायको प्रथाजनीत कानुनलाई मान्यता दिएको बताए । सुन्दर बजार नगरपालिकाले हालै पारित गरेको वन सम्बन्धी कानुनमा आदिवासी जनजातिहरुको आफ्नो प्रथाजनीत व्यवस्था मार्फत प्राकृति स्रोतलाई गर्दै आएको व्यवस्थापनलाई मान्यता दिइएको छ । यसमा लागि सिप्रेडले दुरा समुदाय र नगरपालिकासँग समन्वय गरेको थियो ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य सुरेशकुमार दुराले हालै नगरपालिकाले पारित गरेको वन सम्बन्धी कानुनी व्यवस्थाले आदिवासी जनजाति दुराहरुले लामो सययदेखि आफ्नै प्रथाजनीत कानुन मार्फत व्यवस्थापन गर्दै आएको वनलाई मान्यता दिएको बताए । दुराडाडामा दुरा समुदायले आफ्नै रितीथिती मार्फत करिव एक हजार हेक्टर वन क्षेत्र व्यवस्थापन गर्दे आएका छन् ।

त्यसैगरी दुरा सेवा समाजका अध्यक्ष देव दुराले दुरा युवा तथा महिलालाई लक्षित गरेर तालिम सञ्चालन भएकोमा खुशी व्यक्त गरे । ‘सिप्रेडसँग मिलेर हामीले यसअघि पनि दुरा समुदायका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं’ उनले भने, ‘अहिले यो विषम परिस्थितिमासमेत तालिमको आयोजना गर्न पाउनु दुरा समुदायको लागि राम्रो कुरा हो, तालिम उपयोगी हुने कुरामा हामी विश्वस्त छौं ।’

तालिममा जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरु र अन्तर सांस्कृति दृष्ट्रिकोण बारे डा. पासाङ शेर्पा, मानव अधिकार, आदिवासी जनजातिको अधिकार तथा आदिवासी जनजातिको दीगो स्वनिर्धारित विकास र नीतिगत पैरवी बारे पत्रकार खिम घले, आदिवासी जनजाति महिलाको मुलप्रवाहीकरण तथा मानव अधिकारबारे इन्दिर श्रेष्ठ र जलवायु परिवर्तनले आदिवासी जनजातिमा पारेको असर बारे पूर्वकर्णेल गोकुल दुराले सहजीकरण गरेका थिए । त्यसैगरी सिप्रेडका आङनिमा शेर्पा र प्रिती गुरुङले जलवायु परिवर्तनले दुराडाडा र विशेष गरेर दुरा समुदायमा परेको असरहरु पहिचान गरेका थिए ।

यही अवसरमा सिप्रेड परिवार तथा केही मनकारी मित्रहरुबाट उठाएको रकमबाट दुराडाडा क्षेत्रमा रहेका छ वटा स्वास्थ्य चौकीमा स्वास्थ्य उपकरणहरु पनि वितरण गरिएको थियो । त्यसमा स्यानिटाइजर, मास्क, ज्वरो नाप्ने थर्मल गण, प्रेस नाप्ने यन्त्रलगायतका स्वस्थ्य सामाग्री रहेका छन् । कार्यक्रममा सहभागीहरुलाई पनि स्यानिटाइजर लगायतका प्रारम्भिक उपचार सामाग्री वितरण गरिएको थियो ।

समापन समारोहमा सुन्दरवजार नगरपालिका वडा नं. ११ का वडाध्यक्ष प्रेमबहादुर दुराले दुरा समुदायलाई आफ्नो अधिकारप्रति सचेत बनाउनका लागि तालिमहरुको आवश्यकता भएको र सिप्रेडले त्यसतर्फ काम गरिरहेको बताए । साथै उनले आयआर्जनलगायतमा पनि सघाएकोमा सिप्रेडलाई धन्यवाद दिएका थिए ।

त्यसैगरी सिप्रेडमा अध्यक्ष डा. पासाङ शेर्पाले दुरा समुदायको अधिकार स्थापनाका लागि तालिमलगायतका क्षेत्रमा सिप्रेडले सघाइरहेको बताए । ‘हामीले दुरा समुदायले आफ्नो प्रथाहरुबाट व्यवस्थापन गर्दै आएको स्रोतसाधनमा उहाँहरुकै अधिकार स्थापित होस् भन्ने चाहेका हौं’ उनले भने, ‘उहाँहरुले जुन माया र साथ हामीलाई दिनु भएको छ, हामीले उहाँहरुसँग मिलेर थप काम गर्नको लागि उत्साहित बनाएको छ ।’

सम्बन्धित समाचार