१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाइएको प्रदेशसभा सदस्य वलीको भनाई



काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको दावी गरेकी छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी उनले आफुलाई एमाले आउन दवाव दिंदै मुख्यमन्त्रीको निवासमा राखे र जवरजस्ती एमालेमा फर्किएँको विज्ञप्तिमा हस्ताक्षर गराएको पनि बताएकी छन् ।

उनले जारी गरेको बिज्ञप्ति अनुसार साउन १५ गते एमाले प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो घरमा आएर एमालेमा आउन दबाव दिएका थिए, अनी आफू उपचारका लागि नेपालगञ्ज जान लागेको बताएपछि ढकालले सँगै जान प्रस्ताव गरेको र विश्वास गरेर उनीहरुकै गाडीमा आउँदा अमिलिया आइपुगेपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासी बुटवलतिर मोडेर मुख्यमन्त्री निवास पुर्याएको बताएकी छन् ।

उनले मुख्यमन्त्री पोखरेलले पहिला गल्ती भयो, अब त्यस्तो हुँदैन । एमालेमा आउनुस्, मन्त्री बन्नुस् भनेर प्रलोभन देखाएको र जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको बताएकी छन् । थप केही माइन्युटमा पनि आफूलाई हस्ताक्षर गराएको भन्दै उनको भनाई रहेको छ । उनले बन्दक अबस्थामा रहेको बेला साउन २० गते मुख्यमन्त्री निवासबाट बाथरुमको चप्पल लगाएर भाग्न सफल भएको पनि बताएकी छन् । भागेर उनी माओवादी संसदीय दलको कार्यालयमा आएकी थिइन् । उनले आफुले पहिल्यै माओवादी रोजेको भन्दै माओवादीमै रहने बताएकी छन् ।

 

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  २ : ३७ बजे