काठमाडौं । काठमाडौं उपत्यकामा विगत चार महिनादेखि जारी निषेधाज्ञा हटेको छ । उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले चार महिनादेखि जारी निषेधाज्ञा हटाएको हो ।
बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गरेका हुन् । ती आदेशहरु बिहीबारदेखि भदौ मसान्तसम्म लागु हुनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ ।
सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले डिसिसिएमसीसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । अनावश्यकरुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजलाई प्रतिबन्ध लगाइएको छ । चाडपर्वहरु स्वास्थ्य मापदण्ड पालना गरी भिडभाड नगरी मनाउन आदेशमा भनिएको छ ।
त्यस्तै, पसल, रेष्टुराँ, होटललगायत व्यवसायहरु सञ्चालन गर्न पाइने भएको छ । ढुवानीको हकमा भने प्रशासनले समयसीमा तोकेको छ । स्थानीय ढुवानीको हकमा बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न पाइने छ ।