२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

कांग्रेस प्रवक्ता विश्वप्रकाशद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा



काठमाडौँ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसका संस्थापक बीपी कोइरालाको स्मृति दिवसको अवसरका बीपी कोइराला संग्रहालय सुन्दरीजल पुगेका शर्माले त्यहीबाट महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

शर्माले उम्मेदवारी घोषणा गर्ने भन्दै केही दिनअघि नै सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जानकारी गराएका थिए । ‘अब अधिवेशन आउन धेरै दिन पनि छैन । फेरि अधिवेशनको मुखैमा मात्र उम्मेदवारी घोषणा गरेर पनि हुँदैन, त्यसैले म उम्मेदवारी घोषणा गर्दैछु,’ शर्माले देउवालाई भेटेर भनेका थिए । तर, शर्मा देउवाकै प्यानलबाट महामन्त्री बन्ने वा अरु समूहबाट भन्ने प्रस्ट छैन । देउवाले पनि सभापतिमा आफै उम्मेदवार बन्ने भनिसकेका छन् । तर, उनको महामन्त्री वा कुन पदमा को–को उम्मेदवार बन्ने भन्ने टुंगिएको छैन ।

यसअघि नै महामन्त्रीमा युवा नेताहरु गगन थापा र प्रदीप पौडेलले पनि उम्मेदवारी घोषणा गरेका छन् । थापा राम चन्द्र पौडेल समुहबाट महामन्त्रीको उम्मेदवार हुने पक्क जस्तै भएको छ ।

शर्माले १३ औँ महाधिवेशनमा खुलातर्फ १ हजार ६ सय २० मतसहित १६औँ स्थानमा केन्द्रीय सदस्य जितेका थिए । उनलाई सभापति देउवाले पार्टीको प्रवक्ता मनोनीत गरेका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  २ : ०३ बजे