१४ मंसिर २०८०, बिहिबार | Thu Nov 30 2023

मन्त्री भएकै दिन परराष्ट्रमन्त्री खड्का न्युयोर्क प्रस्थान



काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति न्युयोर्क प्रस्थान गरेका छन् । गत भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मङ्गलबारदेखि सुरु भएको उच्चस्तरीय बैठकमा भाग लिन अमेरिका प्रस्थान गरेका मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदीलगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले बिदाइ गरेका थिए ।

‘आशाका माध्यमबाट लचिलोपन निर्माण गर्दै कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । महासभामा भाग लिने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका सहसचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईलगायत अधिकारी छन् ।

सत्तारुढ गठबन्धनबीच कुरा मिल्न नसक्दा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बिस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद् बिस्तार गर्न नसके पनि राष्ट्रसंघीय महासभा सुरु भएपछि प्रधानमन्त्री देउवाले आपु निकटका नेता खड्कालाई परराष्ट्रमन्त्री बनाएर त्यता पठाएका हुन्।

परराष्ट्रमन्त्री खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका हुन्। विसं २०६४ मा उदयपुर–१ बाट संविधानसभा सदस्य निर्वाचित भएका उनी २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

सोही स्थानबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित डा खड्का अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य थिए । विसं २०७० मा उनी सहरी विकास मन्त्री भए भने २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहकार थिए । उनले २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा काम गरेको अनुभव छ । राजनीतिक आन्दोलनका क्रममा काठमाडौँ र विराटनगरमा पटकपटक पक्राउ परेका उनी विभिन्न समयमा पाँचपटक जेल पनि परेका थिए ।

राजनीतिसँगै अध्ययन र समाजसेवमा विशेष रुचि राख्ने मन्त्री खड्का चार दशकदेखि राजनीतिमा सक्रिय छन् । अर्थशास्त्रमा विद्यावारीधि गरेका उनी नेपाली कांग्रेसको प्रभावशाली नेता मानिन्छन् । उनी संविधानसभा पदकलगायत विभिन्न पदकबाट सम्मानित भइसकेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  १२ : ३५ बजे